प्रदेश 2

सीप बेगर रोजगार खोज्नु मरुभूमिमा पानी खोज्नु सरह हो : मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं–२ को सरकार र डिफिड नामक संस्थाको सञ्चालित सीप परियोजनाबीच सम्झौंँता अनुरुप पूर्वाधार निर्माणको कार्य शुरु भएको छ । गत साउन महिनामा भएको सम्झौता अनुरुप आगामी तीन वर्षभित्र विभिन्न प्रदायक संस्थाको माध्यमद्वारा ४५ हजार युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

यस सम्बन्धमा मोरङ वक्र्स जनकपुरमा जेसिवी तालीम सेन्टरको शुभारम्भ भएको छ भने रोजगारी पसलले यस अघि नै प्रदेश नंं–२ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल सञ्चालन गर्दै बेरोजगार युवाको लगत सङ्कलन गरी रोजगार उपलब्ध गराउने काम शुरु गरिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिस मिश्रले जानकारी गराए ।

मोरङ अटो वक्र्स जनकपुरमा आज जेसिवी तालीमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आजको प्राविधिक युगमा प्रत्येक व्यक्तिको हातमा सीप हुनु आवश्यक रहेको बताए । उनले सीप बेगर रोजगार खोज्नु मरुभूमिमा पानी खोज्नु सरह भएकाले प्रदेश सरकारले युवायुवतीलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रम थालिएको जानकारी गराए।

सीप परियोजना साझेदार संस्था लेवल स्टेपले सर्लाहीको हरिवनमा गलैँचा बनाउने तालीमको शुभारम्भ गरिसकेको छ । एसबिआइ बैँकले वैदेशिक रोजगारमा जाने युवाका लागि सहुलियत ऋण आजैबाट उपलब्ध गराउने कार्यको शुभारम्भ गरेको छ भने प्रभु बैँकले भोलिबाट योजनाको शुभारम्भ गर्ने जनाइएको छ ।