पु.समाचार

सचिवलायको जिप दुर्घटना: उपसचिव घिमिरे र छोरा घाइते

सप्तरी । विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख २१७२ नंको ट्रकले गति कम गर्दा ट्रकको पछाडि प्रदेश सचिवालयको जिप ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ ।

श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दीपक घिमिरे सवार प्रदेश १–०२–००१झ०७१६ नंको प्रदेश सचिवालयको जिप दुर्घटना हुँदा उपसचिव दीपक र उनका छोरा ११ वर्षीय दीघार्यु घिमिरे घाइते भएको घाइते दीपक घिमिरेले बताए । दुर्घटनामा सामान्य घाइते भएका उपसचिव घिमिरे र उनका छोरा दीर्घायूको शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर फर्किएको छ ।