प्रदेश 2

जनशक्ति उत्पादन गरी प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा प्रदेश नं २ मा प्रविधिमा किशोरी (गल्र्स इन टेक) परियोजनाको आज शुभारम्भ गरे ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । लैङ्गिक असमानतालाई हटाउने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य छ ।

यस परियोजनाअन्तर्गत प्राविधिक पाठ्यक्रम तथा नेतृत्वसम्बन्धी तालीमदेखि ह्याकाथन तथा प्रतिस्पर्धामा आत्मविश्वाससँगै सहभागी हुने तरिका र सहयोग गरी प्रविधिको क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने पहुँचको समुदाय बनाउने लक्ष्य राखिएको छ ।

परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माणमा सघाउ पु¥याउने गर्दछ ।

परियोजनाले आर्थिक तथा सामाजिकरूपमा कमजोर पृष्ठभूमिका १०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दछ । प्रविधिमा किशोरी संसारभर फैलिएको एक गैर नाफामूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाखभन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०२० जनवरीदेखि शुरू भएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने धारणा राखे ।

उनले छोरीप्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । मुख्यमन्त्री राउतले समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउनेलगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक छ भने ।

मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक छ भने । किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको उनले बताए ।

युकेएडका टोली प्रमुख बलजित बोहराले यो कार्यक्रमले नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि सघाउने डिएफआइडीको प्रबिद्धताको जगमा काम गरिरहेको बताए ।