अन्तर्राष्ट्रिय

चीनलाई कोरोना भाईरस मुक्त बनाउँछौंः राष्ट्रपति सी जिन्पिङ

एजेन्सी । चीनियाँ राष्ट्रपति सी जिन्पिङले चीनलाई कोरोना भाईरस मुक्त बनाउने दाबी गरेका छन् । चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको सि ले बताएका हुन् ।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताएएका हुन् ।

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा सङ्क्रमण उच्च तहमा पुग्ने बताएका छन् । जसको अर्थ हुन्छ त्यसपछि सङ्क्रमण घट्दै जानेछ ।

कोरोनाभाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८ सय सङ्क्रमण भएको आँकडा दिएका छन् । उता हुबेइको वुहान शहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ ।

दुई सय यात्रुसहित जापानी विमान त्यहाँबाट उडेको छ भने बुधवार अबेर अमेरिकी चार्टर्ड विमान त्यहाँबाट बाहिर उड्दैछ । यस्तै वुहानमा कोरोनाभाइरस सङ्क्रमणसँग जुझ्न जोडतोडका साथ नयाँ अस्पताल बनाइँदै छ । युरोपेली आयोगले युरोपेली नागरिकहरूको उद्धारमा सहयोग गर्ने बताएको छ।

हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ । हालसम्म चीनमा सङ्क्रमितहरूको सङ्ख्या ४५ सय पुगेको छ। उता जापान र जर्मनीमा चीन नगएका मानिसहरूमा पनि सङ्क्रमण देखिएको छ ।

ती व्यक्तिमा चिनियाँ मानिससँग भेटघाटमार्फत् सङ्क्रमण सरेको बताइएको छ। चीनमा कोरोनाभाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ । सुरुमा मर्नेहरूमा ती पाका उमेरका बिरामी थिए जसमा स्वासप्रस्वाससम्बन्धी दीर्घ रोग थिए ।

हालैका समयमा मारिनेहरूको भने विस्तृत विवरण आएका छैनन् । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मङ्गलवार चीनले सहमति जनाएको छ । ती विज्ञले भाइरसबारे थप बुझ्न मद्दत गर्ने अनि अन्तर्राष्ट्रिय प्रतिक्रियालाई सघाउने छन् ।