खेलकुद

शहीद स्मारक लिगः आर्मी पुनः शीर्ष स्थानमा

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको पुनः शीर्ष स्थानमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा आज भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका हुन् । पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । आर्मीले महत्वपूर्ण अवसर पाए पनि गोल गर्न भने सकेन ।

खेलको ७४औँ मिनेटमा सन्तोष तामाङले दिएको पासको सदुपयोग गर्दै भरतले उत्कृष्ट गोल गर्नुभएको थियो । योसहित जारी लिगमा भरतको व्यक्तिगत चौथो गोल हो । दोस्रो हाफमा समेत आर्मी जाउलाखेलमाथि हाबी भएको थियो ।

पटक पटक गोल गर्नबाट आर्मी चुकेको थियो । जितसँगै आर्मी नौ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा पुग्न सफल भएको छ । यस्तै जाउलाखेल नौ खेलमा १२ अङ्कका साथ लिगको आठौं स्थानमा यथावत् छ ।