राजनीति

जनताको मान्यता एकातिर तर कम्युनिष्ट सरकारको चाहना अर्कोतिर भयोः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क र जागरुक भएर अघि बढनुपर्ने धारणा व्यक्त गरे ।

नेता पौडेलले एकदलीय निरङ्कुशतालाई लिएर देशमा परिवर्तन गर्ने सोच भएका राजनीतिक शक्तिले आफूलाई बहुदलसँग जोडेर अघि बढ्दा विरोधाभास उत्पन्न भएको आरोप लगाए । उनले भने, “नेपालको संविधान निर्माण गर्दा पनि ठूलो विरोधाभास भएको थियो, छ वर्षसम्म त्यसैमा लड्नु प¥यो । कम्युनिष्ट पार्टीका मन मस्तिष्कमा एक दर्शन छ, त्यसबाट प्रेरित भएर त्यहीअनुसार संविधान दिन चाहने तर अर्कोतिर लोकतन्त्रका लागि ठूलो सङ्घर्ष भएको र त्यसअनुसार संविधान बनाउनुपर्ने अवस्था थियो ।”

आफूले लोकतन्त्रको मान्यतालाई बचाउन प्रत्येक धारामा बहस गरेर लड्नु परेको नेता पौडेलले स्मरण गरे । संविधानसभाको बनावटअनुसार लोकतान्त्रिक संविधान आउने अवस्था नभएको परिस्थितिमा काँग्रेसको ठूलो प्रयासले नेपालको संविधानमा लोकतान्त्रिक मूल्यमान्यता उल्लेख गर्न सफल भएको उनको भनाइ थियो ।

“संविधान कार्यान्वयन गर्ने बेलामा फेरि लोकतन्त्रमा विश्वास नभएका शक्तिहरुको हातमा सत्ता गयो । उनीहरु कानून बनाएर आफूले चाहेको दर्शन र सिद्धान्ततिर देशलाई लान प्रयत्न गरिरहेका छन्” उनले भने, “सबै लोकतान्त्रिक शक्ति एकजुट भएर खबरदारी गर्नुपर्छ । संविधान र जनताको मान्यता एकातिर तर उहाँहरुको चाहना अर्कोतिर छ, त्यसैको द्वन्द्व हो अहिले ।”

नेता पौडेलले काङ्ग्रेस पार्टीलाई पद्दतिमा अघि बढाउन र आवधिक आन्तरिक निर्वाचनका लागि पनि लडाइँ गर्नुपरेको बताउँदै पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डेले नागरिक अधिकार सङ्कुचन गर्ने कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने बताउँदै त्यसविरुद्ध सदनमा सशक्त प्रतिवाद गर्दैआएको जानकारी गराए। उनले यसबारेमा प्रेस जगत्ले पनि समयमै खबरदारी गर्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रतिबन्धात्मक वाक्यले संविधानका मौलिक हकलाई सङ्कुचन गर्नेसक्ने खतरा रहेको आंँल्याए ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेलले उक्त कार्यपत्रमाथि टिप्पणीमा देशमा प्रतिपक्षी दल छैन भन्ने मानसिकताले वर्तमान सरकार अघि बढेको बताउँदै नागरिकका अधिकार कटौती हुने विधेयकमा विपक्षी दलले सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रमिक आन्दोलनका नाममा सत्तामा पुग्ने कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि श्रमिकका संरचनालाई कमजोर बनाउन लागेको आरोप लगाए । फ्रिड्रिक इबर्ट स्टिफ्टुङका कार्यक्रम निर्देशक डा चन्द्रदेव भट्टले लोकतन्त्र सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्ति बलियो हुनुपर्ने बताउँदै अहिले नागरिक समाजको उपस्थिति कमजोर देखिएको बताए ।

कार्यक्रममा युनियनका संस्थापक तथा संविधानसभा सदस्य डा शोभाकर पराजुली, युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेललगायतले संविधानको भावना र मर्मविपरीत अघि बढाइएका कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताएका छन् ।