मनोरञ्जन

वसन्त थापाको ’सालको पातको टपरी’ पछी ’सयको गुन’ व्यापक चर्चामा

काठमाडौं । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएका छन्। गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन् । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो । यसअघि उनले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पु¥याएको छ ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस्तै थापाले सङ्गीत गरेर माझी र उहाँ आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहेको छ । पछिल्लो समय उहाँका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उनले भने, “सङ्गीत गर्न र गीत गाउन मै व्यस्त छु ।” उनले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस (फेब्रुअरी १४) लाई लक्ष्य गरेर बजारमा ल्याएको हो । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उनले बताए ।

“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भने, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उनले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।
करुणाको एकल कविता वाचन

धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लाग्नुभएकी भोजपुरका कवि करुणा राईले काठमाडौँमा एकल कविता वाचन गर्नुभएको छ । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा राईले आफ्ना दश कविता पस्कनुभयो । ‘जुत्ता’, ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँशु’, ‘घाइते सम्झना’ शीर्षकका कविताबाट दर्शकले आनन्द लिए । कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको उनको कविता वाचन गरी सघाएका थिए ।

कार्यक्रममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित राईको ‘बरन्डामा तिमी’ शीर्षक कवितामा निर्मित काव्य भिडियो प्रदर्शन गरियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेवे र जीना तामाङले अभिनय गरेका छन् ।

कवि भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए। कवि विप्लव ढकालले उनका कविता दुई चार कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको जिकिर गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेका थिए । राईको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।