समाचार

प्रहरीले अधिकार दुरुपयोग गर्‍यो, आस्था राउतलाई अनुसन्धान बिना थुन्न पाइदैन : सांसद ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरेका हुन । “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भने, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराए । नेकपाका सांसद बलराम बाँस्कोटाले वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो भन्ने प्रश्न गरेका थिए । सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गरे।

राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसद्मा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाए । नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए।
नेपाली काँग्रेस धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्टयाइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।