अन्तर्राष्ट्रिय

ट्रम्पको शान्ति योजना अस्वीकार गर्न प्यालेस्टिनी प्रधानमन्त्रीको आह्वान

एजेन्सी । प्यालेस्टायनका प्रधानमन्त्री मोहम्मद श्तायहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ अस्वीकार गर्न आह्वान गरेका छन् ।

ट्रम्पको योजना इजरायलको पक्षमा आएको भन्दै उहाँले योजना बहिस्कार गर्न सोमबार अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् । “यो योजना मार्फत् ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संरक्षण गर्ने देखिएको छ, यो मध्यपूर्वको शान्ति योजना होइन,” प्यालेस्टायनी प्रधानमन्त्री श्तायहले मन्त्रीपरिषद् बैठकमा भने ।

उनले यस योजनाले प्यालेस्टायन नियन्त्रित क्षेत्रलाई पनि इजरायलको अधिकार दिने दावी समेत गरेका छन् । सोमबार वासिङ्टनमा नेतान्याहु र उहाँका राजनीतिक प्रतिस्पर्धी बेन्नी गान्ट्जसँगको भेटपछि ट्रम्पले मध्यपूर्वका लागि भन्दै ‘शान्ति योजना’ बनाएको बताएका थिए ।

अमेरिकी माथिल्लो सदनमा आफूविरुद्धको महाअभियोग प्रस्तावमा छलफल चलिरहेकै बेला ट्रम्पले यस्तो योजना बनाएको बताए । त्यसैगरी इजरायलमा अर्को महिना निर्वाचन हुन लागेको र गान्ताजले जित्ने सम्भावना रहेको सन्दर्भमा ट्रम्प र इजरायली नेताहरूले भेटवार्ता गरेका छन् ।

“अन्तर्राष्ट्रिय कानुनसँग बाझिने प्रस्ताव उनीहरूले बनाएकाले अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्नु हुँदैन,” श्तायहले भने । उनले प्यालेस्टायनी जनताको अधिकार विक्रीमा नरहेको भनेर कडा टिप्पणी पनि गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।