खेलकुद

ए डिभिजन लिगमा आज हुने खेलको तालिका यस्तो छः दुई खेल हुँदै !

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको छ । पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजे सूरु हुनेछ

चालू लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको टिम हो, सरस्वती । जित विहिन सरस्वतीले ८ खेल खेलिसकेको छ । लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । शीर्ष डिभिजनमा उक्लिने सम्भावना जिवित राख्न उसलाई जितको विकल्प छैन ।

सरस्वतीको शीर्ष डिभिजनको भविष्य पुछारदेखि दोस्रोमा रहेको एपीएफको प्रर्दशन र नतिजामा समेत निर्भर रहनेछ । लिगमा सरस्वतीलाई रेलिगेशनबाट बच्न अब लगभग अन्तिम मौका रहेको छ । मंगलबार उसले लिगको नवौं खेलमा हिमालयन शेर्पा क्लबलाई प्रतिद्वन्दी पाएको छ ।

कमजोर देखिएको शेर्पाविरुद्ध जित निकाले सरस्वतीलाई थोरै राहत मिल्नेछ । हारले भने सरस्वती रेलिगेशनको जोखिमबाट थप पिल्सिनेछ । लिगमा अव सरस्वतीले ५ खेल खेल्न बाँकी छ । पाँच टोली मध्य तुलनात्मक रुपमा कमजोर देखिएको क्लब भनेकै शेर्पा हो । त्यसैले सरस्वतीलाई रेलिगेशनबाट बच्ने अन्तिम एक अवसर मंगलबारको खेलमा छ ।

शेर्पा र सरस्वतीविचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेसमा दिनको साढे ११ बजे सुरु हुनेछ । दुबै टिम जितको खोजीमा हुनेछन् । सरस्वती पहिलो जितको खोजीमा हुनेछ । यस्तै शेर्पा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जित दर्ता गर्न चाहन्छ ।

सरस्वती क्लबका प्रशिक्षक प्रदिप नेपाल लिगमा सबै टिम एकैनाशको भएकाले शेर्पालाई कमजोर नसोचेर पहिलो जितको लागि खेल्ने बताउँछन् ।

‘शेर्पा एकदमै राम्रो छ । हामीलाई जुनसुकै अवस्थामा जित चाहिएको छ । जित्नकै लागि खेल्नेछौं ।’ उनी भन्छन् । यता, शेर्पा पनि पुछारमा रहेको सरस्वतीलाई कमजोर सोच्ने गल्ती नगर्ने बताउँछ । प्रशिक्षक संजिब बुढाथोकी सरस्वतीलाई कमजोर रुपमा नलिने खेलपाटीलाई बताए ।

‘सरस्वती पनि राम्रो छ । जित्नकै लागि खेल्छौं । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’ उनी भन्छन् । लिगमा मछिन्द्रलाई मात्रै पराजित गरेको शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । दोस्रो जित निकालेको खण्डमा शेर्पा नवौं स्थानमा पुग्नेछ ।

मंगलबार दुबै टिमले आफ्ना दुई विदेशी खेलाडी खेलाउनेछन् । यस्तै चोटका कारण सरस्वतीले मनिष थापालाई गुमाउने छ । शेर्पाका विश्वास श्रेष्ठले लिगका बाँकी सबै खेल गुमाउनेछन् ।

लिगको शीर्ष स्थानमा रहेको अवस्थामा आर्मीले पछिल्लो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । जसका कारण उसले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमायो । पहिलो पटक लिग जित्ने लक्ष्य सहित विभागीय आर्मी र मछिन्द्र क्लब उपाधि होडमा रहेका छन् ।

लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ३ बजे सुरु हुनेछ । जावलाखेल दबाब बिनै मैदान उत्रने लक्ष्य बनाएको छ । तर उपाधि होडको पेचिलो लडाँईले आर्मीलाई भने सुख दिने छैन । शीर्ष स्थानमा फर्कन उसलाई जावलाखेलविरुद्ध जित्नै पर्ने हुन्छ ।

लयमा नदेखिएको फरवार्ड लाईनमा सुधार गर्नु आर्मीलाई चुनौती छ । राष्ट्रिय टिम र युथ टिमबाट खेलिसकेका खेलाडी सम्मिलित आर्मीको फरवार्ड लाईन नचल्दा टोली बेला बेला दबाबमा देखिन्छ । आर्मीमा रहेका राष्ट्रिय टिमका सदस्य नवयुग श्रेष्ठ, भरत खवास, सन्तोष तामाङ र जर्ज प्रिन्स कार्की जस्ता खेलाडीले फरवार्ड लाईन सम्हालेका छन् । तर नाम अनुसारको नतिजा आउन सकेको छैन ।

मंगलबार भने आर्मीले आफ्नो अग्रपंक्ति सुधार गर्ने लक्ष्य राखेको छ । ‘पछिल्लो समय बराबरी खेल्यौं । आक्रमणमा सफल भएनौ । यसलाई सुधार गरेका छौं । शीर्ष स्थानमा उक्लिन खेल्छौं ।’ आर्मीमा ब्यवस्थापक तथा सहायक प्रशिक्षक चुनबहादुर थापा भन्छन् ।

यता, शीर्ष ६ भित्र आफुलाई राख्ने लक्ष्य बनाएको जावलाखेलले आर्मीविरुद्ध दबाब रहित खेल्ने योजना बनाएको छ । ‘आर्मी बलियो छ । आवश्यता अनुसार आक्रमक खेल्छौं । अंक गुमाउँदैनौं ।’ जावलाखेल युथका प्रशिक्षक नरेश थापा भन्छन् ।

मंगलबार आर्मीलाई कुनै खेलाडीको समस्या छैन । जावलाखेल भने आफ्ना भारतीय फरवार्ड कुवेरलाई गुमाउने छ । चोटका कारण उनि टिम बाहिर रहनेछन् । जावलाखेलले अन्य तीन विदेशी खेलाडीको प्रयोग भने गर्न सक्नेछ । आर्मीविरुद्ध जित निकाले जावलाखेल चौथो स्थानमा पुग्नेछ ।