पर्यटन/संस्कृति

हिन्दू, बौद्ध र किराँतको आस्थाको केन्द्र हलेसीको प्रवर्द्धनमा सांसद भट्टराई सक्रिय

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीको चौतर्फी विकासका लागि निर्माण गरिएको गुरुयोजना पारित भएको छ । सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको गुरुयोजना निर्माण समितिले काठमाडौँमा आयोजना गरेको दुईदिने बृहत् अन्तक्र्रियामा हाल तयार पारिएको गुरुयोजनाको प्रस्तावित प्रतिवेदन संशोधनसहित पारित गरेको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । हलेसी तथा आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रूप दिइएको नेकपाका केन्द्रीय सदस्यसमेत हरेका संयोजक भट्टराईले बताए ।

बृहत् अन्तक्र्रिया कार्यक्रमले हलेसी मन्दिर (गुफा)लाई केन्द्र मानेर २०० मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने लगायतका निर्णय गरेको छ । गुरुयोजनाको प्राथमिकतामा महादेव गुफा, तुवाचुङ जायजुम, होलेसुङ, ककनी र मञ्जुश्री गुफालाई राखिएको छ ।

ककनी डाँडालाई रक गार्डेन (ढुङ्गे बगैँचा)का रूपमा विकास गरिने गुरुयोजनामा उल्लेख छ । हलेसी आसपासका अन्य गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, भुम्जुडाँडा, खाम्तेलगढी, सल्लेपोखरी, महादेवबेंसी, जयरामघाट तथा जोर्तीघाटलगायत स्थान गुरुयोजनमा समावेश गरिएको छ ।

मन्दिरलाई केन्द्र मानेर अतिक्रमित जग्गा अधिग्रहण गर्ने क्रममा जग्गा धनी तथा सरोकारवाला पक्षसँग छलफल गरेर उचित क्षतिपूर्तिको विषय टुङ्ग्याइने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । नगरप्रमुख राईका अनुसार अधिग्रहणमा पर्ने घरको लागत अनुमान मूल्याङ्कन, सरकारी तथा निजी जमिनको वर्गीकरणलगायत काम सम्पन्न भइसकेको छ ।

छलफलमा मारातीका छोलिङ गुम्बा, गणेश मन्दिर, हलेसी मन्दिर र आसपासका निजी घर तथा हलेसीको प्राकृतिक गुफालाई असर पु¥याउने रूखको उचित व्यवस्थापन गर्ने निर्णय भएको छ । यसका लागि हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीलगायत सरोकार भएका पक्षसँग छलफल गरेर निष्कर्षमा पुगिने हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन बृहत्तर गुरुयोजनाको काम अघि बढाइएको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बजारीकरण हुनेक्रममा हलेसीको नाममा रहेको जग्गा अतिक्रमण भएपछि व्यवस्थित गर्न गुरुयोजना निर्माणको कामलाई तीव्रता दिइएको हो ।

गुरुयोजनालाई अन्तिम रूप दिन हलेसी तुवाचुङ नगरपालिकाको पहलमा २०७५ माघ ४ गते सांसद भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो । सांसद हीरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पूर्वराज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पूर्वसांसद टङ्क राई, विदुर पौडेल, संविधानसभा सदस्य सरस्वती बजिमय, पिके राई, दुर्गाजयन्ती राई, समिता कार्की, हरि रोका, नगरपालिकाका नगरप्रमुख राई, उपप्रमुख विमला राई, हलेसीका वडाध्यक्षलगायत सदस्य छन् ।

यसअघि समितिले हलेसीको पर्यटन बृहत्तर गुरुयोजना निर्माणका लागि पहल गरेको थियो । संसारकै एकमात्र त्रिधार्मिकस्थलका रूपमा चिनिने हलेसीको विसं २०४३ मै गुरुयोजना बनेको भनिए पनि हालसम्म फेला पर्न सकेको छैन ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको खोटाङको हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज लगायतमा ठूलो मेला लाग्ने गरेको छ । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि गत वर्ष रु ८० लाख बजेट विनियोजन भएको थियो ।