पु.समाचार

कोरोना भाइरसवाट नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

चितवन । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् ।

रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा सङ्क्रमणबाट बच्न सकिने बताउँछन् ।

कोरोना भाइरसले रुप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई (भ्याक्सिन) भने नभएको उनको भनाइ छ । अधिकारीको भनाइमा यो भाइरस सन् १९६० मा पत्ता लागेको थियो । ग्रिक शब्दमा कोरोना भन्नाले माला भन्ने बुझिन्छ । यो भाइरस ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उनले बताए ।

नयाँ दशकसँगै यो भाइरस चीनको वुहानबाट देखिएको भन्दै उनले भने, “मङ्गोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्यानडलगायत देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपालजस्ता देशहरुमा न्यून देखिएको छ ।” धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीनवटा कुरामा विशेष ख्याल गर्न उनले सुझाव दिए । व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उनी बताउँछन् । यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्याञ्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिए ।  

तेस्रोमा कानूनी रुपमा सरकारका तर्फबाट उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । चिनियाँ पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थी धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशीय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने अधिकारीको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न उनले सुझाव दिए ।

नेपालमा पशु र पक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उनले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनुपर्ने बताए । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।

नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले सङ्क्रमण गरिसकेपछिको शुरुआती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्युसमेत हुने गर्दछ ।

अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको सङ्क्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उनले बताए । रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (¥याल, सिङ्गान) परीक्षण गर्न सुझाव दिँदै उनले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताए ।