साहित्य

देश गन्हाउछ !

-सुरेन्द्र सिटौला                                                                                                       – कविता

उसले छोरा जन्मायो
पुरुषार्थको भाग्यमानी पदक कमायो ।
भबिष्यको गर्भमा
आनन्दको सपना जमायो ।
जराबस्थाको दुखमा राहत दिने
भरपर्दो झुपडी बनायो ।
ढुक्क छ उ !
मृत्यु पश्चात् बैतरणी तार्ने
कृया – पुत्री कमायो ।
जीबन अचानक तल माथी भए
स्वर्ग जाने बाटो खनायो ।

छोरा अलि ठूलो भयो
स्कुल पठायो ।
स्कुलको फिस तिर्न
निकै बर्ष उसले
आफ्नो गाँस कटायो ।
छोराको रहर पूरा गर्न
उसको गरिबीले
जसो तसो उसलाइ कुबेर बनायो ।
यद्यपि !
छोराको कुल्कुलाउदो अनुहारमा
झल्किने तरक्किको आभासले
उसलाइ आनन्दको बन्दी बनायो ।
पुत्र मोहको नसा न हो !
संतानका भबिष्यको पोल्टामा
जवानी उर्जाका सबै रहर खन्यायो ।

समयको बेगले
छोरालाइ निकै अग्लो बनायो ।
स्कुले शिक्षा राम्रै गरि
उतिर्ण गरायो ।
क्रमशः बाबुको गौरब
छोरा कलेज गएको देखेर
आफैमा औधी रमायो ।
तर छोराले खर्छ अलि बढायो ।
बाबू न हो !
अभावको रापले निस्सासिए पनि
छोरालाइ कलेज पार गरायो ।

छोरा अब !
भबिष्यको सपनामा रमाउन थाल्छ ।
उ देशलाइ गन्दैन ।
बाबू आमालाइ सपनाको कथा भन्दैन ।
खुरुन्धार गर्दै
कन्सल्टेन्सी र एम्बेस्सी धाउछ ।
जसो तसो स्वस् खर्चमा पढ्न
बिदेश जाने भिसा पाउछ ।
बाबा सहर्ष !
छोराको लागि खर्च जुटाउछन ।
अनौठो छ संस्कार हाम्रो
छोरा बिदेश उडाएको दिन
समाजमा उनले ठुलै इज्जत कमाउछन ।

धेरै बर्ष भयो उ उडेको
अब उ उतै बस्छ ।
घर -जम उतै छ ।
बुढा बुढी भै सकेका बाबू आमालाइ
फुर्सत हुदा फोनमा माया पठाउछ ।
नेपाल आउने छिमेकी मार्फत
बाबु आमाको हातमा
थोरै डलर खर्छ पनि थमाउछ ।
जीबन सुर्यास्थ हुनै लाग्दा
छोराको मुख हेर्न ललायीत
जिर्ण बाबू !
छोरालाइ नेपाल बोलाउछ ।
छोरा भन्छ बाबा ! म कसरी आउ
मलाइ अब तिम्रो देश गन्हाउछ ।