खेलकुद

रहेनन् विश्व बास्केटबल लेजेण्ड ब्रायन्टः हेलिकप्टर दुर्घटनामा छोरी सहित ९ को मृत्यु

एजेन्सी । विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्टको मृत्यु भएको छ । हेलिकप्टर र्दुघटनामा परि ब्रायन्टकी छोरी जियाना सहित ९ जनाले ज्यान गुमाएका छन् ।

ब्रायन्टको निजी हेलिकप्टर क्यालिफोर्निया राज्याको कालाबासामाथि र्दुघटनाहुँदा सवार ९ को मृत्यु भएको बिबिसिले जनाएको छ । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन । ४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको उपाधि जितेका थिए । उनलाई यस खेलकै लेजेण्डमध्ये एक मानिन्छ ।

व्यावसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए ।

उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनले सन् २००६ मा टोरोन्टो र्‍याप्टर्सविरुद्ध एक्लै ८१ अंक स्कोर गरेका थिए । जुन एकै खेलमा दोस्रो सर्वाधिक स्कोर हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई टेरिबल न्युज भनेका छन् ।