खेलकुद

फुटबलः स्टार सिटी र हसनपुर युवा क्लब विजयी

धनगढी । यहाँ जारी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तरगत आजको खेलमा स्टार सिटीले दुर्गालक्ष्मी माध्यमिक विद्यालयलाई ११—० गोलको फारकिलो अन्तरले पराजित गरेको छ । स्थानीय जुगेड खेल मैदानमा भएको प्रतियोगितामा स्टार सिटीका लागि कमल देउवाले दोहोरो ह्याट्रिक सहित आठ गोल गरे । यस्तै सुनिल शाह, किरण बोहरा र कुवेर सिंहले एक/एक गोल गरे ।

आजै भएको अर्को खेलमा हसनपुर युवा क्लबले धनगढी युवा क्लबलाई ४–२ गोलले पराजित गर्यो । हसनपुरका लागि सुदीप घर्तीले दुई, अरबी चौधरी र मनोज शाहीले एक/एक गोल गरे । धनगढी युवा क्लबका लागि मनोज चौधरीले दुई गोल फर्कायो । 

प्रतियोगिताअन्तर्गत सोमवार दुई खेल हुने आयोजक मनकामना युवा क्लबले जनाएको छ । ‘भिडब्लु प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता’ नाम दिइएको यो प्रतियोगिताको महिलातर्फका खेल भने यही माघ १७ गतेदेखि शुरु गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १६ र महिला तर्फ सात टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेतालाई रु ७५ हजार, उपविजेतालाई रु ४१ हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै महिलातर्फको विजेतालाई रु २० हजार, उपविजेतालाई रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।