राजनीति

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री खतिवडा

काठमाडौं-सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताएको हो । उनले सरकार नियमसङ्गत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि दुःख दिने पक्षमा नरहेको स्पष्ट पारे ।

राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उनले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताए । सरकार भन्सार राजश्वभन्दा पनि आन्तरिक राजश्व उठाउनेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो आन्तरिक राजश्व उठ्ने क्रम राम्रो छ, अन्तःशुल्क, भ्याट र आयकरको सङ्कलन राम्रो छ ।”

उनले व्यवसायीलाई विकृति हटाउन र सामानको गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्दै तत्काल नै भन्सारको महसुल दर घटाउन नसकिने उल्लेख गरे । अर्थमन्त्री खतिवडाले आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने बनाउने योजनामा सरकार लागेको जानकारी दिए । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व सङ्कलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताए ।

भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उनले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राखे । हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तरराष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको तथ्याङ्क छ ।