स्वास्थ्य

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।”

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ ।

चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी बिमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।