समाचार

जीवन बिमा कम्पनीहरूको आफ्नै संघ स्थापना

काठमाडौं- जीवन बिमा कम्पनीहरूले आफ्नै संघ स्थापना गरेका छन् । नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जीवन बिमा व्यवसाय गर्ने बिमकबीचमा आपसी छलफल तथा सहजीकरणमार्फत् जीवन बिमासम्बन्धी समस्या समाधान गर्न संघ बनाइएको हो । यस्तै नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफारहित संस्था खुलेको बताइन्छ ।

जीवन बिमा कम्पनीहरूले संस्था दर्ता ऐन, २०३४ बमोजिम “जीवन बिमक संघ नेपाल” नामको संस्था स्थापना भएको हो । संघको कार्यसमितिमा बैंकहरूको प्रमुख कार्यकारी अधिकृतहरू छन् । अध्यक्ष भने सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छन् । यस्तै मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सचिव छन् ।

संघको कोषध्यक्ष रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली छन् भने सदस्यहरूमा राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठक, युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, रिलायवल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योति लाइफका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री छन् ।

संघले जीवन बिमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियम तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकायलगायत नेपाल सरकारका अन्य निकायलाई जीवन बिमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्य लिएको छ ।