समाचार

मुलुकको ईज्जत राख्ने सम्पदाको विनाश गर्नेखाल्का विकास निर्माण रोख्नुपर्छः पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् ।

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०आँै वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले भने, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।”

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए। परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनले टिप्पणी गरे ।

नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए । शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताए । उनले आफ्नो जीवनमा चलअचल रु ४० करोड सम्पत्ति रहेकामा रु २० करोड फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालीम प्रदान गर्ने जानकारी दिए ।

संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै रेड मुन नामक पत्रिकाको विमोचन गरिएको थियो ।