समाचार

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ ।

अपाङ्गताको क्षेत्रमा भएका गतिविधिका बारेमा आफ्ना अनुभव साटासाट गर्न नेपाललगायत विभिन्न देशका मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ता उक्त सम्मेलनमा सहभागी छन् ।

सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० भन्दा बढी प्रतिनिधि छन् । अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको अवस्था के छ, उनीहरुको अबस्थामा कसरी सुधार गर्न सकिन्छ, त्यस विषयमा एकअर्का देशको अबस्था के छ र कसरी काम भइरहेको छ भन्ने विषयमा अनुभव साटासाट तथा आएका चुनौतीलाई सामनाका लागि उपायको खोजीमा सम्मेलन केन्द्रित छ ।

आयोजक सामाजिक वैयक्तिक विकासका लागि सहकार्य सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले अपाङ्गता भएका व्यक्ति, उनीहरुको अभिभावक र संरक्षणकर्ताको सार्थक जीवनका लागि महत्वपूर्ण योगदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताएका छन् ।

विकासात्मक अपाङ्गतासँग सम्बन्धित निदानात्मक पक्षलाई भेलाले उपयुक्त तरिकाले सम्बोधन गर्ने अपेक्षा रहेको उनले बताए । अपाङ्गताको क्षेत्रमा काम गर्ने सिभ्युस इन्टरनेशनल सन् १९७४ मा स्थापना भएको संस्था हो । संस्थाले अपाङ्गता भएकाको मानसिक स्वास्थ्य र उनीहरुको व्यवस्थापन र क्षमता विकासमा सहकार्यात्मक क्रियाकलापलाई जोड दिँदै आएको छ ।

यसले सन् १९९३ मा नर्वेमा पहिलो सम्मेलन गरेको थियो । सन् १९९७ मा जापान, २००२ र २०१८ मा भारतको कोलकातामा सन् २००९ र २००६ मा बङ्गलादेशको राजधानी ढाकामा कार्यक्रम भएको थियो । विश्वव्यापी रुपमा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरुको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाले काम गर्दै आएको छ ।

सिभ्युस इन्टरनेशनलका उपाध्यक्ष प्राध्यापक डा एन्टोनियो पिन्टो मोटेरियो अपाङ्गता भएका व्यक्तिको बहुपक्षीय विषयलाई समेटेकाले सिभ्युसले अबलम्वन गरेको कार्य पद्धति वर्तमान समयमा हरेक देशका लागि उपयोगी रहेको बताउछन् ।

बङ्गलादेशको राजशाही विश्वविद्यालयको मनोविज्ञान विभागअन्तर्गत स्थापित मानसिक स्वास्थ्य केन्द्रका निर्देशक एवं सिभ्युस इन्टरनेशनलका महासचिव प्राध्यापक डा अनवरुल हसल सुफीले संस्थाले अपनाएको पद्दति दक्षिण एशियामा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि महत्वपूर्ण हुने जिकिर गरेका छन् ।

राजशाही विश्वविद्यालयका प्राध्यापक डा चौधरी एम जाकिरा, सिभ्युस इन्टरनेशनल बङ्गलादेशका उपाध्यक्ष प्राध्यापक डा सुल्ताना नाजिनले समयमै सहयोग गर्न सकियो शारीरिक तथा बौद्धिक अपाङ्गताको अवस्था बिग्रनबाट बचाएर सहज जीवनयापनमा सहयोग मिल्ने उल्लेख गरेका छन् ।

त्रिपुरा विश्वविद्यालय भारतको मनोविज्ञान विभागका उपप्राध्यापक डा अञ्जना भट्टाचार्यले विद्यालयको पाठ्यक्रममा नै सहकार्यात्मक विधिलाई समावेश गर्नुपर्नेमा जोड दिए ।

शुक्रबारदेखि शुरु दुई दिने सम्मेलनमा छ वटा मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमध्ये नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । सम्मेलनले अपाङ्गतासम्बन्धी राजशाही घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनमा ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’ (डिमेन्सिया), ‘आत्महत्या रोकथाम’, ‘मनोविज्ञानको ऐतिहासिक विकासक्रम र बङ्गलादेशको वर्तमान अवस्था’, ‘अटिजम्को समस्या भएका बालबालिकाको हेरचाह गर्दा हुने तनाव व्यवस्थापन’, ‘डाइलेक्टिक विहेवियर थेरापी’ र ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि व्यवसायिक सीप र सामाजिक सहभागिता’सम्बन्धी मुख्य विषयमा छलफल भइरहेको छ ।

शुक्रबार पहिलो दिनको दोस्रो सत्रमा चाइनिज मनोवैज्ञानिक सङ्घका अध्यक्ष प्राध्यापक डा बुक्सिन हानले ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’९डिमेन्सिया० र जापानी स्वास्थ्य मनोविद् प्राध्यापक डा अकिरा टुस्दाले ‘आत्महत्या रोकथाम’ सम्बन्धी कार्यपत्रप्रस्तुत गरेका थिए ।

सम्मेलनले अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनमा भएका उत्कृष्ट अभ्यासको बारेमा कार्यपत्र प्रस्तुत भइरहेकाले त्यसबाट शिक्षा ग्रहण गरी उत्पन्न समस्या न्यूनीकरणमा टेवा पुग्ने आशा गरिएको छ ।

नेपालको चार कार्यपत्र

सम्मेलनमा नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । प्राध्यापक डा उषाकिरण सुब्बाले शुक्रबार नै ‘नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे भने आज द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्गता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, र द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले, ‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्छन ।

उक्त सम्मेलनमा नेपालबाट डा ठगुन्नाको संयोजकत्वमा मनोविमर्शकर्ता एवं शिक्षक नेत्रबन्धु पोखरेल, सिर्जना श्रेष्ठ, गोपीलाल श्रेष्ठ, लुना रिजाल, विमला बडु र आशा लामाको सहभागिता छ ।

डा ठगुन्नाले विश्वभरिका अपाङ्गता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा पनि सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको उल्लेख गर्दै आत्महत्याको जोखिम पनि उत्तिकै रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत ९हरेक सातमा एक जना० अपाङ्गता भएका व्यक्ति छन् । नेपालमा कूल जनसङ्ख्यामा १।९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।