खेलकुद

ए डिभिजन लिगमा आज हुने खेल तालिका यस्तोः दुई खेल हुदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ९शनिबार० दुई खेल हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । एनआरटी ११ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

यस्तै संकटा लिगको ७ खेलमा ९ अंकसहित नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स ८ अंक सहित १२ औं स्थानमा रहेको छ । सातौं चरणको अन्तिम खेलमा बलियो मानिएको च्यासल युथलाई पराजित गर्दै आर्मीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनायो ।

तर, आठौं चरणको अन्तिम खेलसम्म आईपुग्दा आर्मीसँग दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले अंक बराबरी छन् । मछिन्द्र र मनाङसहित तीन टिमको समान १६ अंक भएपनि आर्मी पहिलो स्थानमा रहेको छ ।

आर्मीले अझ एक खेल खेल्न बाँकी रहेको छ । आठौं चरणको अन्तिम दिन शनिबार आर्मीले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल अपरान्ह १२ बजे सुरु हुनेछ । यस्तोमा आर्मीलाई एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता लिने मौका रहेको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपाने शीर्ष स्थानमा ३ अंकलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने बताउँछन् । ‘शीर्ष स्थानमा ३ अंक अग्रता रहेको छ । एनआरटीविरुद्ध त्यसलाई निरन्तरता दिन्छौं,’ न्यौपाने भन्छन् ।

एनआरटीविरुद्ध आर्मीका डिफेन्डर विकाश तामाङ दोस्रो पहेलो कार्डका कारण मैदानमा हुने छैनन् । तर, उनको स्थानमा अघिल्लो खेल गुमाएका युद्ध शाहीले पुनरागमन गर्ने छन् । यता, एनआरटी बलियो आर्मीविरुद्ध उत्कृष्ट खेल खेल्दै अंक हात पार्ने लक्ष्यमा हुनेछ । ‘आर्मी बलियो छ ।

राम्रो गरिरहेको छ । हामी आफ्नो खेल खेल्दै अंक लिन्छौं,’ एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भन्छन् । लिगमा ७ खेल खेलेको आर्मीको १६ अंक रहेको छ । आर्मीले ५ जित, १ बराबर र १ खेलमा हर व्यहोरेको छ ।

लिगको ७ खेलमा ११ अंक जोडेको एनआरटी तालिकाको छैटौं स्थानमा रहेको छ । गत सिजनको खराब प्रदर्शनले एनआरटीले यस पटक सुरुमै दुई अंक गुमाउन पुगेको छ । ४ जित, १ बराबर र २ हार व्यहोरेको एनआरटी आर्मीलाई पराजित गरे तालिकाको पाचौं स्थानमा उक्नले छ ।

गत सिजनको लिग उपविजेता संकटा शीर्ष ६ मा उक्लने लक्ष्यसहित शनिबार मैदानमा उत्रदैछन् । दशरथ रंगशालामा संकटाले फ्रेन्ड्सको सामना गर्नेछ । संकटा र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा यस खेल आठौं चरणको अन्तिम खेल समेत हो । लिगमा दुईरदुई खेलमा जित निकालेका संकटा र फ्रेन्ड्स तेस्रो जितको खोजीमा हुने छन् । शनिबारको जितले संकटा शीर्ष ६ मा उक्लने छ भने फ्रेन्ड्स शीर्ष ८ भित्र रहनेछ । मिश्रित टिम लिएर लिग खेलिरहेका दुबै टिमको लक्ष्य शीर्ष ६ मा रहनु रहेको छ ।

किनकी शीर्ष ६ मा रहने टिमले अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउने छन् । यस सिजन उत्कृष्ट प्रदर्शन गर्न असफल भईरहेको संकटा लिगमा तेस्रो जित निकाल्न चाहन्छ । संकटा क्लबका प्रशिक्षक बिजय महर्जन फ्रेन्ड्सविरुद्ध ३ अंकका लागि खेल्ने बताउँछन् ।

फ्रेन्ड्सविरुद्ध संकटा चार विदेशी खेलाडीसहित मैदान उत्रने छ । दुई जित, तीन बराबर र दुई खेलमा हार व्यहोरेको संकटा ९ अंक सहित तालिकाको नवौंं स्थानमा रहेको छ । यता, फ्रेन्ड्सपनि संकटाविरुद्ध स्पष्ट जितको लागि खेल्नेछ ।

संकटालाई हराउँदै फ्रेन्ड्स तेस्रो जित निकाल्ने दाउमा हुनेछ । तीन ब्राजिलियन खेलाडीको साथ पाएको फ्रेन्ड्सलाई एक भारतीय खेलाडीको पनि साथ रहनेछ । लिगमा २ जित २ बराबर र ३ हार व्यहोरेको फ्रेन्ड्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।