बाग्मती

घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सवइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।

आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुससहित पक्राउ गरेको हो । सवइञ्जिनीयर तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएका थिए । आरोपी तिवारीको अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगल नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बिजुलीको पोल राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगको टङ्गालबाट गएको टोलीले घुस लिँदै गरेको अवस्थामा कामनपा–१४ बाट उहाँलाई पक्राउ गरेको हो । आयोगले चौधरीलाई बिहीबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।