समाचार

१० हजार विद्युतीय चुलो अनुदानमा वितरण गर्छौं: मन्त्री पुन

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आन्तरिक विद्युत् खपतलाई बढाउन बढी विद्युत् खपत गर्ने ग्राहकलाई प्रोत्साहन गर्ने गरी कम दरमा विद्युत् महशूल निर्धारण गर्न लागेको जानकारी दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल र अजम्बरी विकास फाउण्डेशनको आयोजनामा आज यहाँ भएको नेपालमा विद्युतीय चुलो प्रवद्र्धनसम्बन्धी गोष्ठीमा उनले आगामी वर्षदेखि विद्युत् उत्पादन बढ्ने हुँदा त्यसै अनुपातमा आन्तरिक खपत बढाउन वर्तमान महशूल दरमा परिवर्तन गरी नयाँ दर कायम गर्न विद्युत् महशूल निर्धारण आयोग समक्ष प्रस्ताव गरिएको बताए ।

उनले भने, ‘‘खाना पकाउन प्रयोग हुने परम्परागत इन्धनको निर्भरता घटाउन र आयातित एलपी ग्यासको खपत कम गराउन आन्तरिक खपत बढाउने गरी विद्युतीय चुलोलाई प्रवद्र्धन गर्न यस वर्ष १० हजार र आगामी वर्ष एक लाख चुलो अनुदानमा वितरण गरिने छ र क्रमशः यसलाई बढाउँदै लगिनेछ ।’’

मन्त्री पुनले बढी भएको विद्युत् भारतलगायत अन्य छिमेकी मुलुकहरुमा बिक्री गर्न सकिने बताउँदै ऊर्जा सुरक्षाका लागि आन्तरिक खपतलाई नै मुख्य प्राथमिकता दिइने बताए । विद्युतीय चुलोको प्रयोगले आन्तरिक खपतलाई बढाउने मात्र नभई स्वास्थ्य, वातावरण, महिला सशक्तीकरण र लैङ्गिक समानता जस्ता विकासका आधारहरुमा पनि सहयोग पुग्ने भएकाले यसको प्रवद्र्धनको अभियानलाई अगाडि बढाउन सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले अगामी वर्षयामदेखि नै विद्युत् बढी हुने भएकाले बिजुलीबाट खाना पकाउन, कृषि, यातायातलगायतका क्षेत्रमा उपयोग गर्नु आवश्यक भएकाले त्यस अहिले नै ध्यान दिनु आवश्यक भएको बताए । केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले विद्युतीय चुलोको प्रवद्र्धन र विस्तारका लागि केन्द्रले अनुदानको व्यवस्थासहित विशेष कार्यक्रमहरु सञ्चालन गरी जनताको जीवनस्तरमा सुधार ल्याउन गरिएका प्रयासहरुका बारेमा जानकारी दिए ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले गत वर्षदेखि सञ्चालन गरिएको विद्युतीय चुलोको प्रवद्र्धनको अभियानले सरकारलाई उपयुक्त नीतिगत व्यवस्था गर्न र उपभोक्ताहरुमा जागरण ल्याउन मद्दत पुगेको बताउँदै यस अभियानलाई आगामी दिनमा पनि अझ विस्तार गर्दै लगिने छ भने ।

कार्यक्रममा ऊर्जाविद् प्रा.डा. जगन्नाथ श्रेष्ठले खाना पकाउन परम्परागत इन्धनको प्रयोग कम गर्न र एलपी ग्यासको खपत घटाउन विद्युतीय चुलोको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै एलपी ग्यासको तुलनामा ४२ प्रतिशतले सस्तो र समयको हिसाबले ३२ प्रतिशतले छिटो रहेकाले विद्युतीय चुलोको प्रयोगलाई बढाउनु पर्दछ भने । उनले देशमा दैनिक ७२ हजार ग्यास सिलिण्डरको खपत हुने गरेको, वर्षमा ४२ अर्ब रुपैयाँको खपत हुने गरेको र वातावरणीय हिसाबले पनि प्रदूषित रहेको बताउँदै बढ्दो व्यापार घाटा कम गर्न एलपी ग्यासको खपतलाई घटाउनुको विकल्प नरहेको धारणा राखे ।

केन्द्रका बरिष्ठ ऊर्जा अधिकृत मुकेश घिमिरेले स्वच्छ भान्छाको अभियान, सबैलाई विद्युत् सुविधा पु¥याउने, पेट्रोलियम पदार्थको खपतलाई कम गर्नेजस्ता राष्ट्रिय लक्ष्यहरु हासिल गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । उनले तराईका २२ जिल्लामा अझैपनि गुइँठालगायत कृषिजन्य अवशेषहरुबाट खाना पकाउने गरिएकाले त्यसलाई कम गर्न यसै वर्षदेखि तराई स्वच्छ भान्छा कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । फाउण्डेशनका प्रबन्ध निर्देशक सुवर्ण कपालीले विद्युतीय चुलोको बजार विस्तार गनुअघि भरपर्दो विद्युत् आपूर्ति हुनुपर्ने, विद्युत् महशूल सस्तो हुनुपर्ने र यसको प्रचारप्रसारको आवश्यक रहेको बताए ।