खेलकुद

लिगमा आज दुई टोली भिडदैः मनाङ र सरस्वती, च्यासल र ब्रिगेडबीच प्रतिस्पर्धा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ ।पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ । च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।

कारबाहिका कारण दुई खेल प्रतिबन्धमा परेका रन्जन बिष्ट मैदान फर्कदै गर्दा मनाङले तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र मनाङबीचको खेल बराबरीमा सकिए लगत्तै खेलाडी हातपातमा उत्रिएका थिए । एन्फाले विवादमा संलग्न भएको भन्दै रन्जन सहित मनाङका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।

गोलरक्षक अशोक बराल ६, मिडफिल्डर जगजित श्रेष्ठ ५ र रन्जन बिष्ट २ खेलको प्रतिबन्धमा परेका थिए ।दुई खेलको प्रतिबन्धमा परेका रन्जनले थ्रीस्टार र हिमालयन शेर्पा क्लबसँगको खेल गुमाएका थिए । चालू लिगमा उनले एक गोलमात्र गरेका छन् ।

स्ट्राइकर रन्जनको आगमनसँगै मनाङले अग्रपंक्ति बलियो हुने अनुमान गरेको छ । अघिल्लो खेलमा टिममा समाबेश भएका निशान लिम्बुको प्रदर्शनले मनाङलाई साथ दिनेछ ।

राष्ट्रिय टिमका एक मात्रै सदस्य रहेको मनाङ रेलिगेशन जोनमा रहेको सरस्वतीलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । कीर्तिमान आयल निगमको प्रयोजनले मनाङ हौसिएको छ ।

‘उपाधि होडमा रहन सरस्वतीविरुद्ध जितको विकल्प छैन । सरस्वतीलाई कमजोर मान्दैनौं । आफ्नो खेल खेलेर जित हात पार्छौं ।’ मनाङका प्रशिक्षक धनेश्वर प्रजापति भन्छन् । दुई पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका सुरज विश्वकर्माले सरस्वतीविरुद्ध पुनरागमन गर्नेछन् ।

लिगमा ७ खेलमा ३ मा जित, ४ मा बराबरी खेलेको मनाङ १३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।यता, सरस्वती पनि मनाङविरुद्ध कम्तिमा अंक खोस्न चाहन्छ । रेलिगेशन जोनमा रहेको सरस्वती बाकी ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न चाहन्छ ।

प्रशिक्षक प्रदिप नेपाल मनाङविरुद्ध राम्रो खेल्दै अंक खोस्ने उद्धेश्यमा रहेको बताउँछन् ।‘मनाङविरुद्ध राम्रो गर्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

लय फर्काउने दाउमा च्यासल

लिगको सुरुवाती दुई खेल हेर्दा लाग्थ्यो, च्यासलनै लिगको मुख्य दाबेदार हो । संकटा र मछिन्द्रविरुद्ध च्यासलको खेल जसले हेरे, उनीहरु पक्कैपनि ललितपुरे क्लबबाट प्रभावित भएको हुनुपर्छ ।

दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष साहुखलले पनि घरेलु लिग फुटबलमा ९९ गोल गरेका थिए । तर च्यासलको लय बिस्तारे गुम्न पुग्यो । एकपछि अर्को खराब नतिजाले च्यासल अब रेलिगेशन नजिकको क्षेत्रमा आईपुगेको छ ।

यता, ब्रिगेड पनि च्यासललाई कमजोर नलिने बताउँँछ । ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन गुरुङ बलियो ब्रिगेडविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् । ‘अबका सबै खेल महत्वपूर्ण हुन्छ । च्यासल निकै बलियो टिम हो । उसको आक्रमणलाई रोक्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् ।

ब्रिगेड ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ । शुक्रबारको खेलमा जित निकाल्दै ब्रिगेड आठौं स्थानमा उक्लने दाउमा हुनेछ । यता ब्रिगेडविरुद्ध जित निकाल्दै च्यासल नवौं स्थानमा उक्लन चाहन्छ । लिगमा ५ गोल गरिसकेका स्ट्राईकर सन्तोष शाहुखल सर्बाधिक गोलकर्ताको दौडमा अगाडी छ ।