समाचार

राष्ट्रियसभा निर्वाचन: जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान

जनकपुरधाम । चार राष्ट्रियसभा सदस्यका लागि आज प्रदेश नं २ मा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । जनकपुरस्थित महेन्द्रनारायणनिधि संस्कृति केन्द्रमा बिहान १० बजे मतदान शुरु भएपछि अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो ।

प्रदेशका १०७ प्रदेशसभा सदस्य र स्थानीय तहका २७२ गरी कूल ३७९ मतदाता मतदानमा सहभागी थिए । निर्वाचन अधिकृत राजु खतिवडाले केही बेरमा मतगणनाको प्रक्रिया शुरु गरिने जानकारी दिए ।

सुर्खेत–राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा रिक्त दुई पदका लागि भएको निर्वाचनमा १९८ मतदातामध्ये १९५ जना (९८.४८) प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत डा राजेन्द्रविक्रम आचार्यले जानकारी दिए । आचार्यका अनुसार निर्वाचन मर्यादित, व्यवस्थित र शान्तिपूर्ण अवस्थामा सम्पन्न भएको छ ।

कर्णालीबाट राष्ट्रियसभाका एक महिला र एक पुरुष रिक्त सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मायाप्रसाद आचार्य र सुमित्रा बिसी तथा नेपाली काँग्रेसबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेत उम्मेदवार रहेको छ । आजको निर्वाचनका मतगणना बेलुका ५ बजे हुने निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

सुदुरपश्चिममा २२७ जनाको मतदान
डोटी–सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभाको निर्वाचनअन्तरगत डोटी जिल्ला सदरमुकाम सिलगढीमा भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कुल २२९ जना मतदाता रहेको उक्त निर्वाचनमा जम्मा २२७ मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । नेकपा)बाट अछाम जिल्लाबाट प्रदेश समानुपातिक सदस्य मनकुमारी साउद र काँग्रेसबाट निर्वाचित साइपाल गाउँपालिका बझाङका उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागी नहुँदा जम्मा २२७ मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।