बाग्मती

आवास निर्माणमा ढिलाइ

भीमेश्वर । विनाशकारी भूकम्पले क्षति पुर्याएका घरको पुनर्निर्माण गर्न किस्ता नआउँदा आवास निर्माणमा ढिलाइ भएको छ ।

पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो किस्ता वापत रु १८ करोड ५० लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । अहिले कार्यालयमा रकम लिन प्रभावितको घुइँचो लाग्दै आएको उनले जानकारी दिएका छन् ।

विसं २०७६ को कात्तिक २९ गते जिल्लामा आवश्यक रु एक अर्ब ४० करोड ४८ लाख ५० हजार रकम माग गरिएको थियो । हालसम्म उक्त रकम निकासा नहुँदा भूकम्पपीडितले घर निर्माण शुरु गर्न नसकेका हुन् । जिल्लाका लाकुरीडाँडा, मिर्गे, जुगु, क्षेत्रपा, नाम्दु, काब्रे, सुरी, जिरी नगरपालिका, आलम्पु, चिंलखा, ओराङ र बुलुङ गरी १२ वटा स्थानमा दुई हजार ४३५ घरको पुनर्निर्माण विभिन्न गैरसरकारी सङ्घ संस्थाले गरेका थिए ।

हाल ७३ हजार २३१ घरको सम्झौता भएको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणमा पहिचान भएको ५१ हजार ९४०,गुनासो फछ्र्योटबाट थप भएका घरधुरी सङ्ख्या १८ हजार ३६० रहेको छ । प्रबलीकरणको सूचीमा दुई हजार ५७८ घर परेको देखिन्छ ।

हालसम्म पहिलो किस्ता लिनेको सङ्ख्या ६६ हजार ६५२, दोस्रो किस्ता ६० हजार १८३ र तेस्रो किस्ता लिई घर सम्पन्न गर्नेको सङ्ख्या ५६ हजार ६०७ रहेको कार्यालयले जनाएको छ । यसअघि ७२ हजार ८७८ घरधुरी लाभग्राही सूचीमा आबद्ध भए तापनि पछिल्लो समयमा ३५३ घरधुरी थपेर ७३ हजार २३१ पुगेको थियो ।

सैलुङ गाउँपालिकाका करीब ३५० भन्दा बढीले गुनासोमार्फत सम्बोधन नभएको जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्दशक सुशील ज्ञवालीले गुनासो सम्बोधन गर्न सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई नै जिम्मेवारी दिई आवश्यकता पहिचान गरी सम्बोधन गर्ने बताए ।