सुदूरपश्चिम

कालिकोटमा प्रहरी एकाइ थप्न माहानिरीक्षक खनाललाई कालिकोटवासीको आग्रह

कालिकोट । कालिकोट जिल्लामा शान्ति सुरक्षा बलियो बनाउन प्रहरी एकाइ थप गर्न प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनालसमक्ष कालिकोटवासीले आग्रह गरेका छन् । कालिकोटमा नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन गर्न यहाँ आउनुभएका महानिरीक्षक खनालसमक्ष कालिकोटवासीले सो माग गरेका हुन् ।

देशमा शान्ति, सुरक्षा कायम हुँदा पनि कालिकोटमा दरबन्दीअनुसार प्रहरी नभएपछि प्रहरी एकाइ थप्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । समन्वय समितिका प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण राजनीतिक दलको तर्फबाट भनाइ राख्दै नेपाली काँग्रेस कालिकोटका पार्टी सहसचिव दमनराज शाहीले कालिकोट राजधानीमा बसेर स्मरण गरेजस्तो जिल्ला नभई प्राकृतिक र राजनीतिक हिसाबले फरक पहिचान बोेकेको छ भने । साथै शाहीले जिल्लामा भौगोलिक हिसाबले समाजमा सुशासन कायम गर्न, भ्रष्टचारलाई न्यूनीकरण गर्न प्रहरी सहयोग आवश्यक भएकाले यसका लागि एक सय प्रहरी दरबन्दी खाली रहेकाले तत्काल पूरा गर्न माग गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा सङ्गठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । प्रहरी महानिरीक्षक खनालले प्रहरीको सामुदायिक साझेदार कार्यक्रमले समाजमा राम्रो प्रभाव पारेकाले यसलाई स्थानीय जनप्रतिनिधि र आम नागरिकले साथ दिनुपर्ने बताए । साथै महानिरिक्षक खनालले कालिकोटमा रिक्त प्रहरी दरबन्दी पूरा गर्न लागि पर्ने बताए ।