राजनीति

नेत्रविक्रम चन्द कार्यकर्ताले गरे आत्मसमर्पण

बागलुङ । नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले आज चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेको हो । सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

आत्मसमर्पणसँगै सापकोटा रु १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए । “प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भने ।