समाचार

राजकुमारी एस्ट्रिडलाई भरतपुरमा राजसंस्थाको झल्कोदिनेगरी पञ्चैबाजाका साथ स्वागत

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी थिए ।

राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराएकी थिईन् । यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिएकी थिईन् । दाहालसँगै राजदूत थापाले जिल्लाको महत्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराएकी थिईन् ।

राजकुमारी एस्ट्रिडसँगै उहाँका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो । यही माघ ५ गतेका दिन नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गरेकी छन् । यस्तै उनले भक्तपुरको दरवार क्षेत्र, बौद्धनाथ स्तूप, काठमाडौँका विभिन्न स्थलहरु र धनगढीको भ्रमण गरेकी छन् ।

उनी आजै नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ । राजकुमारी एस्ट्रिड दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले जानकारी दिए । सहभागीहरुले राजकुमारीको स्वागतले नेपालमा राजसंस्थाको झल्को दिएको बताएका थिए ।