बाग्मती

वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

काठमाडौं । काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही भएका छन् । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गरेका हुन् ।

यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई रु तीन करोड उपलब्ध गराउने छ ।

महानगर प्रमुख शाक्यले सेवा शुरु भएपछि महानगरले अवलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाअनुसार उपचारात्मक पद्धतिसँगै प्रवद्र्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारिएको बताए । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको पनि उनको भनाइ थियो ।

शाक्यले भने , “शहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौँ । अस्पतालमा गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् भन्ने हेतुले हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौँ ।

” सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ ।

थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ ।

थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ जना बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।

महानगरले शहरी स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट्याउने प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यसअघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गङ्गालाल हृदय रोग केन्द्रसँग सम्झौता गर्ने तयारी कामपाको छ ।

सेवा शुभारम्भका अवसरमा वडा नं। १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोल, शहरी योजना आयोगका सदस्यहरु गुजेश्वरी श्रेष्ठ र सजीव शाक्य, जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य, सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, वीरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारीलगायत सहभागी भएका थिए ।