अन्तर्राष्ट्रिय

पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय

एजेन्सी । घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ ।

सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उहाँ परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो ।

तर पछि चीन सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको पुष्टि गरेको थियो । चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्वीकारेको चीनले बताएको छ ।

मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको ‘निकै खर्चालु जीवनशैली’का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।

“मङलाई पदीय मर्यादा विपरित घुस लिएको आरोपमा अदालतले १३ वर्ष छ महिना जेल सजायका साथै दुई लाख ९० हजार अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ,” तियानजिन एक नम्बर जनअदालतले बतायो ।

सुनुवाईका क्रममा गत जुनमा २१ लाख अमेरिकी डलर घुस लिएको उनले बताएका थिए । अदालतले यसलाई पदीय मर्यादाको दुरूपयोग गर्दै ‘गैर–कानूनी लाभ खोजेको’ वा घुस लिएको ठहर गरेको छ ।

अदालतले एक विज्ञप्ति जारी गर्दै मङले उनिमाथि लागेका सम्पूर्ण अपराधलाई स्वीकार गरेका छन् । उनले यसलाई पुनरावेदन नगर्ने पनि बताए ।