समाचार

नेपाल र बेल्जियमबीच व्यापार, लगानी, पर्यटनमा सहकार्य वृद्धि हुने: राजकुमारी अस्ट्रिड

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी अधिराजकुमारी अस्ट्रिडले नेपाल र बेल्जियमबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाइ व्यापार, लगानी, पर्यटनलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेकाले यसका लागि आफूले सक्दो पहल गर्ने वचन दिएकी छन् ।

सिहंदरबारस्थित रक्षा मन्त्रालयमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको शिष्टाचार भेटमा राजकुमारी अस्ट्रिडलाई नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा खुशी व्यक्त गरिन् । नेपालले राजनीतिक स्थिरतापछिको समृद्धि यात्रामा अन्तर्राष्ट्रिय क्षेत्रको लगानी र सहयोगका लागि प्राथमिकता दिँदै आएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेकामा जोड दिए । युरोपेली आयोगभित्रको एक महत्वपूर्ण राष्ट्र बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको जनाउँदै पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा पु¥याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे ।

यसैगरी उहाँले नेपालका क्षयरोग तथा कुष्ठरोगका बिरामीका स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताका लागि आभार व्यक्त गरे । उनले लामो राजनीतिक सङ्क्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धितर्फ मोडिएको कुरा चर्चा गर्दै वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचलाई कार्यान्वयनमा उतार्न सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा लिइएको विचार व्यक्त गरे ।

भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी अस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् । उनले आफू अध्यक्ष रहेको दामियन फाउण्डेसनले विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा नेपाललगायत मुलुकमा कुष्ठरोग र क्षयरोग निवारणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने व्यक्त गरिन् । नेपाल बारुदी सुरुङ्बाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल चाँडै नै ओटाबा कन्भेन्सनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए ।

राजकुमारी अस्ट्रिड एकसाताका लागि यही माघ ५ गते नेपाल भ्रमणमा आएकी हुन् । सोही दिन उनले र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग अलग अलग भेटवार्ता भएको थियो । सोही दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराईले पनि उनीसँग भेट गरेको थियो । काठमाडौँ उपत्यका बाहिर पनि कार्यक्रम रहेकामा हाल केन्द्रमा उच्चस्तरीय भेटवार्ता र पर्यटकीय क्षेत्रको अवलोकनमा व्यस्त छन् ।

राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुन् । नेपालले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रुपमा स्थापित गर्न यही जनवरी १ देखि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन शुरु गरेको सन्दर्भमा उनको भ्रमणले यस वर्षलाई प्रवद्र्धन गर्न सघाउने परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले बताए ।

राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्नुहुने कार्यक्रम छ । उनले त्यहाँस्थित कुष्ठरोगी र क्षयरोगीबाट प्रभावितलाई समेत  भेट्नेछ भने उनले नवलपरासीस्थित प्रदेश स्रोत केन्द्र रहेको मिडपोइन्ट अस्पतालको पनि भ्रमण गर्ने छन् । ती केन्द्र र सेवाहरुमा बेल्जियमस्थित गैह्रसरकारी संस्था ‘दामियन फाउण्डेसन’ को सहयोग हुँदै आएको छ । राजकुमारी अस्ट्रिड ‘ओटाबा कन्भेन्सन’ अन्तर्गत बारुदी सुरुङविरुद्धको अभियानका लागि विदेश दूत पनि हुन् ।

सन् १९६३ अगष्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको नेपाल र बेल्जियमबीच आपसी सद्भाव, विश्वास र परस्पर सम्मानको सम्बन्ध रहँदै आएको छ ।