खेलकुद

भलिबल क्लब च्याम्पियनशिप : आर्मी र न्यू डायमण्ड सेमिफाइनलमा

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस क्लब पाँचौँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी समूह ‘ए’को उपविजेता तथा डायमन्ड समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको समूह चरणको अन्तिम खेलमा डायमन्डले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० सेटले हरायो । डायमन्डले ढोरपाटनलाई २५–३, २५–१६ र २५–१२ अङ्कले पराजित गरेको हो । डायमन्डले आर्मीसित सेमिफाइनल खेल खेल्नेछ । ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’बाट नेपाल पुलिस क्लब उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आर्मी क्लबलाई ३–१ सेटमा पराजित ग¥यो । एपिएफ समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–११ अङ्कले पराजित गरेको हो । एपिएफले पुलिस क्लबसित सेमिफाइनल खेल खेल्नेछ । भरतपुर र जाउलाखेल भने समूह चरणबाट बाहिरिएका छन् ।

यसैगरी प्रतियोगितामा पुरुषतर्फ आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब विजयी भएका छन् । पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटले पराजित गरेको हो । सो खेलमा पुलिस २५–१४, २५–२० र २५–१४ अङ्कले विजयी भएको हो । अर्को खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटले हराएको हो । उक्त खेलमा एपिएफ २५–१४, २५–१० र २५–९ अङ्कले पराजित गरेको हो ।