लुम्बिनी

डिभिजन वन कार्यालयमै मृग भेटिएपछि…

रुकुमपूर्व । रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो ।

रेलिङमा टाउको अडिएको र निस्कन अनेक प्रयास गर्दा मृगको टाउकामा गहिरो चोट लागेको छ । मृगको मुखबाट रगत पनि बगिरहेको छ । टाउकोमा चोट लागेको मृगको उपचार चलिरहेकोे डिभिजन वन कार्यालय रुकुम (पूर्व)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीले बताए ।

चोट गहिरो भएका कारण सञ्चो नहुन्जेलसम्म मृगलाई सुरक्षित साथ कार्यालयमै राखेर उपचार गरिने पनि उनले जानकारी दिए । “मृगलाई बस्नका लागि फलामको सुरक्षित खोर बनाइएको छ, मृग पूर्णरुपमा स्वस्थ भयो भनेमात्र उसलाई जङ्गलमा लगेर छाड्छौँ”, उनले भने । मृगको उपचार गर्न र उसलाई निको हुन केही समय लाग्ने उनको भनाइ छ ।

आज बिहान बाटो हिँड्दा स्थानीयवासीले घरको रेलिङमा अल्झिएर मृग छट्पटाइरहेको देखेपछि वन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । रातिको समयमा घुम्दै बजार पसेको मृग भाग्ने क्रममा अँध्यारोमा रेलिङमा फसेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

पछिल्लो चरणमा वन विनाश र खानाको कमीले गर्दा जङ्गली जनावरहरु बजारतिर झरिरहेका छन् । योभन्दा अगाडि पनि सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित बजारमै मृत मृग फेला परेको थियो ।