आर्थिक

विश्व शान्ति सद्भाव दौडमा सहभागी हुन युनेस्कोका पूर्व अध्यक्ष आउने

चिप्लेढुङ्गा । आगामी फागुन ३ गतेदेखि पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि विश्वशान्ति सद्भाव दौडमा सहभागी हुन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को)का पूर्व अध्यक्ष डा. डेभिडसन एल हेपबर्नसहितको टोली पोखरा आउने भएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अब हुने म्याराथनका बारेमा जानकारी दिए । उनले शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका पोखरा म्याराथनले खेलिरहेको बताए । उनले भने, “यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागी हुन युनेस्कोका पूर्व अध्यक्ष डा हेपबर्नसहितको टोली आउनु हुनेछ, यसले खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।”

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बेग्लै पहिचान बनाउँदै आएको म्याराथनलाई सफल बनाउन नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेको भन्दै सबै मिलेर सफल बनाउनुपर्ने बताए । उनले पोखरा म्याराथन पोखरा र प्रदेशको मात्र नभई नेपालकै पहिचान भएको उल्लेख गर्दै म्याराथनले अब पोखराको मात्र पहिचान नबनाइ अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन सबै क्षेत्रबाट साथ दिनुपर्ने बताए । उनले भने, “यसलाई अझ बृहत् बनाउन सबैले पहल गरौँ । वर्षको एक दिन सहभागितामात्र नसोची स्वास्थ्यका लागि दौडने वातारण बताउनेतर्फ पनि जोड दिऔँ ।” उनले म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भूमिकामा रहने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “पोखरामा सात हजार मात्रै होइन १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउन पर्छ ।” उनले पोखरा भगिनीसम्बन्ध रहेका शहरहरुमा यसको प्रचारप्रसार र सहभागिताका लागि पत्रचारसमेत गरिएको जानकारी दिए ।

त्यस्तै मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यको बारेमा जानकारी दिए । सो अवसरमा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङ, तमु धिं एशोसियसन यूकेका संस्थापक अध्यक्ष मीन गुरुङ ‘सिक्लेसी’, एनआरएन बेलायत राज्य समितिका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड), विभिन्न बैंकका अध्यक्ष तथा कार्यकारी प्रमुखहरु, समाजसेवी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

चौधौँ सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा बढीको सहभागिता रहने छन् । प्रतियोगितामा बेलायत, हङकङ, अमेरिका, जापानलगायत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन् ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकलाई आकर्षित गर्न पुरुस्कारको राशिमा बृद्धि गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई रु दुई लाख प्रदान गर्ने जनाएको छ । त्यसैगरी दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु एक लाख र रु ७५ हजार प्रदान गरिनेछ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिनेछ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहीनका लागि दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद रु १५, १० र ५ हजार र ५ किलोमिटरतर्फ रु १०, रु ५ र रु ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहीन दौडका लागि समेत रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिने मञ्चले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिनेछ ।