गण्डकी प्रदेश

४ सवारी चालक पुर्पपक्षका लागि कारागार चलान

पोखरा । सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ राजकुमार केसीका अनुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पु¥याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत कास्कीको आदेशानुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने किशोर भण्डारी र कृष्ण विश्वकर्मा, ढोका खुला राखी गाडी चलाउने रविन राई एवम् मापसे गरी सवारीसाधान चलाई दुर्घटना गराउने सुजन विकलाई कारागार चलान गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा कार दुर्घटनाका कारण पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो । सवारी अनुमतिपत्र बिना कार चलाउने दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय किशोर भण्डारीले चलाएको ग१च ९६९९ नंको कारले ठक्कर दिँदा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–३० शिशुवाचोकस्थित भित्री सडकबाट डाँडाकोनाकतर्फ जाँदै गरेको ना४५प ५६९४ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ८१ वर्षीय भानुभक्त तिवारीको मुत्यु भएको प्रहरीले जनाएको छ । बालोदय उच्च माविकोे ग१क २४९९ नंको बसका चालक सुनसरी धरान नगरपालिका–१९ घर भएका ४३ वर्षीय रबिन राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–१७ राममन्दिर नजीकै ढोका बन्द नगरी चलाएको बसबाट अचानक खस्दा पोखरा–१७ विरौटा निवासी २६ वर्षीय सरिता पौडेल सुवेदीको सोही बसको पछिल्लो चक्काले कुल्चियर मृत्यु भएको थियो । पुर्पक्षका लागि कारागार चलाउन हुनेमा मापसे गरी अनियन्त्रित तथा लापरवाहीपूर्ण तरिकाले चलाइएको ग१७प ३५४७ नंको स्कुटरका चालक २५ वर्षीय सुजन विक रहेका छन् । पोखराको पृथ्वीचोक सडकखण्डमा भएको स्कुटरको ठक्करबाट पोखरा– ९ नयाँबजारका ४२ वर्षीय अमृत घिमिरे घाइते भएको थियो । सवारी दुर्घटना गराई भागेका चालक विकलाई पक्राउ गरी अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रवक्ता केसीले जानकारी दिए ।