बाग्मती

पनौतीमा तस्वीर प्रदर्शनी

बनेपा । पनौतीको इन्द्रेश्वर महादेव मन्दिर परिसरमा हिजोआज विभिन्न थरिका तस्वीरहरु देख्न पाइन्छ । जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, सुन्दर मनोरम दृश्य, वातावरण रहनसहनलगायतका विषय समेटेर करीब १६० भन्दा बढी प्रदर्शनीमा राखिएका तस्वीर अवलोकन गर्न सकिन्छ ।

सधैँजसो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा रमाइरहनुभएका पनौती नगरपालिका–७ कास्थानीयवासी विशेश्वर सैँजुले सोही क्रममा राखिएका नगपालिकाभित्रका फरक–फरक ठाउँका थरीथरीका तस्वीर एकै ठाउँमा हेर्न पाउँदा त्यही ठाउँमा पुगेजस्तो आनन्द लिन पाएको बताए । कहिल्यै पनि नगएका आफ्नै नगरभित्रका विभिन्न ठाउँको अवस्था र ती ठाउँमा भएका सुन्दर एवं मनोरम दृश्य हेर्न पाउँदा निकै खुशी लागेको उनले बताउछन् ।

सैँजुले भने, “तस्वीर हर्दा लाग्यो, पनौतीमा धेरै राम्रा र मनमोहक दृश्यहरु भएको ठाउँ रहेछ ।” उनलाई त्यो अवसर पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौतीको इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा भएको तस्वीर प्रदर्शनीले दिएको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर आयोजना गरिएको तस्वीर प्रदर्शनीको उनि जस्तै धेरै स्थानीयवासीदेखि विदेशीले समेत अवलोकन गरिरहेका छन् । प्रदर्शनीमा अहिलेसम्ममा दुई हजार ३०० भन्दा बढीले अवलोकन गरिसकेको जनाइएको छ । पानी र हावाहुरीले असर नगर्ने गरी ‘प्रिन्ट’ गरी तस्वीर प्रदर्शनी गरिएको छ ।

गत पुस १६ गतेबाट शुरु गरिएको सो प्रदर्शनीले पनौतीको बारेमा सबै जानकारी लिन सकिने फोटो पत्रकार प्रशान्त श्रेष्ठले बताए । तस्वीर प्रदर्शनीमा राखेपछि आफू पुग्न नसकेको नगरपालिकाभित्रैका धेरै ठाउँका बारेमा जानकारी लिन पाएको र सुन्दर दृश्यका बारेमा बुझ्न पाएको उनले बताएका छन् ।

प्रदर्शनीमा सम्पदा क्षेत्रको तस्वीर नै बढी रहेको श्रेष्ठले बताए । पनौतीको वर्तमान अवस्थाका बारेमा जानकारी दिन हवाईजहाज र ड्रोनबाट खिचिएका तस्वीर राखिएको उनले बताए । वडावासीको योगदानबाटै गरिएको तस्वीर प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुले दिएको सुझावलाई समेत समेटेर आगामी दिनमा गर्नुपर्ने सुधारको विषयलाई सङ्कलन गरेर तस्वीर राखिएको आयोजकले जनाएको छ ।

प्रथमपटक गरिएको तस्वीर प्रदर्शनीबाट सङ्कलित सुझाव समेटी किताब नै प्रकाशन गरेर आगामी दिनमा अर्को तस्वीर प्रदर्शनी गर्न र ठाउँको बारेमा थप जानकारी दिन टेवा मिल्ने उनले बताए । तस्वीर प्रदर्शनीकै क्रममा पनौती नगरपालिकाभित्रैका वस्तुस्थिति झल्कने गरी खिचिएको तस्वीर प्रदर्शनीसँगै प्रतियोगिताका लागि राखिएको छ । प्रतियोगितामा आठ स्थानीयवासीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा फोटो पत्रकार भुवन भोछिभोया र गोपाल वैद्यलाई निर्णायकमा राखिएको आयोजक संस्था पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताएका छन् । पनौतीको वातावरण, जात्रा, संस्कृति र अन्य वस्तुस्थिति झल्कने गरी खिचिएका तस्वीरमध्ये उत्कृष्ट तीन जनालाई नगदसहित सम्मान गरिने उनले बताए । तस्वीर प्रदर्शनीमा फोटो पत्रकार प्रशान्त श्रेष्ठ, अक्षय मधुकर्मी, पदम तामाङ, पुरुषोत्तम अधिकारी, राजकुमार श्रेष्ठ, राजेन्द्र महाजु, अनिष श्रेष्ठलगायतका तस्वीर राखिएका छन् ।