पत्रपत्रिका

उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि डोजर लगाएर खनियो

काठमाडौं । कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ । रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी–देउराली–कोट पाँच किलोमिटर सडक उधारोमा खनेको थियो ।

गुल्मी–१ का तत्कालीन सांसद कृष्ण छन्तेलले सांसद विकास कोषबाट आउने बजेट दिने भन्दै स्थानीयलाई सडक खन्न आश्वासन दिएका थिए । विक नेतृत्वको उपभोक्ता समितिले स्थानीयसँग तेलको पैसा उठाएर सडक खने । समितिकै सदस्यसमेत रहेका निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेको डोजर प्रयोग भएको थियो । तर, सांसद छन्तेलले भनेझैँ समितिले पैसा पाएन ।

उक्त सडक खन्दा २० लाख ८० हजार ऋण रहेको समितिको दाबी छ । भुक्तानी नपाएको भन्दै अहिले डोजरमालिक लक्ष्मीपति न्यौपानले नै दुई ठाउँमा सडक भत्काएका हुन् । सडक खनेको पैसा नपाएको झोँकमा भत्काइदिएको उनले बताए ।

०७४ मा स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा कांग्रेस पराजित भयो । नेकपाका जनप्रतिनिधि आए । उपभोक्ता समितिले उधारोमा सडक खनेको पैसा गाउँपालिका र वडासँग मागे । तर, विनायोजना पहिल्यै सडक खनेर पछि भुक्तानी गर्नु गैरकानुनी हुने भन्दै दिएका छैनन् ।

आर्थिक वर्ष ०७४र७५ मा सोही सडक स्तरोन्नति गर्न गाउँपालिकाबाट १० लाख विनियोजन भएको थियो । उपभोक्ता समितिले पाँच लाख पुरानो ऋण तिरेर पाँच लाखले नयाँ काम गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, वडाध्यक्ष देवी न्यौपानेले त्यसो गर्नु गैरकानुनी हुने भन्दै समितिको प्रस्ताव अस्वीकार गरिदिए ।

विवादमै १० लाख फ्रिज भयो । ‘मैले गैरकानुनी काम गर्ने कुरै भएन, त्यसैले प्रस्ताव अस्वीकार गरेँ,’ न्यौपानेले भने । उधारोमा सडक खन्ने उपभोक्ता समितिप्रति सबै स्थानीय एक पनि छैनन् । उपभोक्ता समितिको नाममा सबैको सहमतिविना नै उधारोमा सडक खनिएको आरोप लगाएका छन् । सडक खन्दाको हिसाबकिताब पनि सार्वजनिक नभएको उनीहरूको गुनासो छ ।

अहिले उक्त सडकसँगै जोडिएर गाउँपालिकामा अर्बेनी रिङरोड बनाउन प्रदेश सरकारबाट एक करोड २२ लाख विनियोजन भएको छ । यो ठेक्का निर्माण व्यवसायी टन्डन कन्स्ट्रक्सनले पारेको छ । तर, निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेले पाँच किलोमिटर सडक खन्दा आफ्नो पैसा फसेको भन्दै टन्डन कन्स्ट्रक्सनका व्यवस्थापक कुलबहादुर टन्डनसँग ठेक्का आफ्नो हातमा ल्याउन पहल गरिरहेका छन् ।

आफूले टन्डनलाई पाँच लाखको चेक दिएकोसमेत उनले बताए । तर, टन्डन भने आफूलाई अप्ठ्यारोमा पारेर फसेको पैसा उठाउन न्यौपानेले कपोलकल्पित आरोप लगाएको दाबी गरे । कालिगण्डकी गाउँपालिकाका प्रमुख वेद थापामगर सांसदको आश्वासनमा उधारोमा काम गर्दा उपभोक्ता समिति फसेको बताउँछन् ।

उनले सडकलाई राजनीतिक विषय बनाइन नहुने बताए । ‘करिब चार सय घरधुरी लाभान्वित हुने सडकसँग कसैको व्यक्तिगत स्वार्थ मिसिन हुँदैन,’ उनले भने, ‘संसद् विकास कोषको आसमा समिति ऋणमा फसेको छ । भुक्तानी नभएको झोँकमा सडक भत्काएछन् ।’ गाउँपालिका अध्यक्ष मगरले समाधान निकाल्ने बताएपछि डोजरमालिक न्यौपानेले भत्काएको सडक पुनः मान्छे हिँड्न मिल्ने गरी केही मर्मत गरेका छन् ।

                                                                                                                              नयाँ पत्रिकाबाट लिएको