खेलकुद

भलिबल क्लब च्याम्पियनसिपः पुलिस क्लब सेमिफाइनल नजिक

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ सेमिफाइनल नजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० सेटले हराएको हो । पुलिसले ढोरपाटनलाई २५–५, २५–१५ र २५–८ अङ्कले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले तीन अङ्क जोडेको छ । उक्त समूहमा न्यू डायमण्डको पनि समान अङ्क रहेको छ । डायमण्ड र ढोरपाटनबीच हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

महिलातर्फको आज भएको अर्को खेलमा भरतपुर मेट्रो खेलकूद परिषद्ले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटले हरायो । भरतपुरले जाउलाखेललाई २५–८, २५–९ र २५–१५ अङ्कले पराजित गरेको हो । समूह ‘ए’ मा रहेको भरतपुरको तीन अंक छ भने जाउलाखेल अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाट आर्मी र एपिएफ सेमिफाइनलमा पुगेका छन् ।

आर्मी क्वाटरफाइनलमा

त्रिभुवन आर्मी क्लब यहाँ जारी आरबीबी एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसीपको पुरुषतर्फ क्वाटरफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज सम्पन्न खेलमा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० सेटले हरायो ।

समूह ए को विजेता आर्मीले नयाँ बजारलाई २५–१०, २५–१८ तथा २५–१९ अङ्कले पराजित गरेको हो । आर्मीले छ अङ्क जोडेको छ । नयाँ बजार समूह ए को उपविजेता भई क्वाटरफाइनलमा पुगेको छ । नयाँ बजारको तीन अङ्क छ । यस्तै समूह बी को अर्को खेलमा बुलबुले रारा क्लबले जाउलाखेल भलिबल केन्द्रलाई ३–० सेटले हरायो । उसले उक्त खेल २५–११, २५–५ र २५–१३ अङ्कले पराजित गरेको हो ।