समाचार

रक्षा अभिमुखिकरण कार्यक्रमको शुभारम्भ

काठमाडौं । आज जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञान देव पाण्डेले रक्षा मन्त्रालयका कर्मचारीहरुलाई समावेश गरी संचालन भएको Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको प्रथम प्रवचन गरि कार्यक्रमको शुभारम्भ गरेका छन् ।

शुभारम्भको क्रममा आफ्नो मन्तव्य राख्दै सहायक रथी पाण्डेले नेपाली सेनाको कार्य प्रकृती तथा भूमिका सम्बन्धमा रक्षा मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरुलाई जानकारी गराई नेपाली सेना र रक्षा मन्त्रालय बीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले प्रथम पटक यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए।

सम्बोधनकै क्रममा उनले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नका लागी रक्षा मन्त्रालयबाट प्राप्त सहयोग, सद्भानव तथा समन्वयको लागि नेपाली सेनाको तर्फबाट रक्षा मन्त्रालय प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

रक्षा मन्त्रालयमा कार्यरत नायब सुब्बादेखि उपसचिवसम्मका २० जना राष्ट्रसेवक कर्मचारीहरु सहभागी भएको उक्त पाँच दिने कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चादलन गरिने छ ।

यस प्रकारको कार्यक्रमले रक्षा मन्त्रालयका नवनियुक्त कर्मचारीहरु नेपाली सेनाको सांगठनिक बनावट, सैनिक गतिविधि र जिम्मेवारीहरु बारे थप जानकार भई रक्षा मन्त्रालय र नेपाली सेनाबीचको आपसी सम्बन्ध विस्तार गर्ने कार्यमा थप सहज र प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।