राजनीति

देशको अखण्डताको बिषयमा चुईक्क नबोल्ने ओली सरकार भ्रष्टाचारमा लिप्तः सहमहामन्त्री डा महत

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश सरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताएका छन। आज प्रेस युनियन पोखराले गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यत्रो ठुलो अनुदानलाई अनावश्यक बहस गरेर खेर जान दिन नहुने भन्दै तत्काल एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिए। देशको अखण्डता र अस्मिता माथी प्रश्न उठ्दा सरकार चुइक्क नबोलेको पनि डाक्टर महतले आरोप लगाए।

सहमहामन्त्री महतले सरकारले प्रेस स्वतन्त्रता र नागरिक अभिव्यक्ति रोक्न लागेको भन्दै त्यसको बिरोध गर्न पोख्रेली पत्रकारलाई आग्रह गरे। सरकारले बाह्य देशको सहयोग लिदा देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौता गर्नुपर्नेमा पनि जोड दिए। नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनमा भाग लिने तर स्ववियु निर्वाचनको निर्णय गर्दा नेपाल विद्यार्थी संघलाई पनि त्रिभुवन बिश्वबिद्धालयले छलफलमा बोलाएर परामर्श गर्नुपर्ने महतले तर्क गरे।

उनले अधिबेशन नभएका भातृसंगठनको अधिबेशन सुनिश्चितताका लागि समय सकिएका भातृसंगठनहरुको म्याद छ महिना थपिएको सहमहामन्त्री महतले बताए। नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार संस्थागत भ्रष्टाचारमा लागेको भन्दै गोकर्ण रिसोर्ट त्यसको एउटा उदाहरण भएको स्पष्ट पारे। कांग्रेसमा ब्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै यसले कांग्रेसलाई फाइदा नगर्ने महतले दाबी गरे।

उनले नेपाली कांग्रेसका कुनैपनि नेताकार्यकर्तालाई पार्टीको बिधानको परिधि भन्दा बाहिर रहेर गतिविधि गर्ने छुट नभए जिकिर गरे।