लुम्बिनी

बिहेवारी बीस वर्षपारि नारामा सीमित

नेपलगञ्ज । युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ ।

जिल्ला केही सचेत युवायुवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउछन् ।

बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन । बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाई छ । गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ वटा उजुरी परेको थियो । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको औल्याए । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बाँके जिल्लामा बालविवाह बढ्दै गएको छ ।

बालविवाह रोकथामका लागि सरकारी तथा गैर सरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्र्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन ।

बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।

बाँके जिल्ला मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर सो समुदायमा २० वर्र्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर, कानूनले २० वर्र्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ ।

केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्र्ष मा नै गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् ।