खेलकुद

शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजिन लिगमा आज (मंगलबार) दुई खेल हुदैछ । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् । दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लब खेल्नेछन् ।

ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।

लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । बिबिसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ । गत सिजनको लिगमा अप्रत्यासित नतिजा निकालेको संकटा यसपटक सोही प्रर्दशन र नतिजा दोहर्याउन सकेको छैन ।

संकटा सातौं चरणको खेलमा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ । संकटा क्लबका प्रशिक्षक विजय महर्जन बलियो विपक्षीसँग तीन अंकको लागि खेल्ने बताउँछन् । ‘बिबिसी बलियो टिम छ । सेट टिम छ । टिममा पनि सुधार हुँदै गएको छ । बिबिसीविरुद्ध जित्नको लागि खेल्छौं ।’ विजय भन्छन् ।

सोमबार संकटाका नियमित कप्तान रवि सिलवाल मैदान फर्कने छन् । चोटका कारण करिब ३ साता उनी मैदान बाहिर रहेका थिए । संकटाका डिफेन्डर बिष्णु सुनुवार भने टिम बाहिर रहनेछन् ।

उनी दोहोरो पहेलो कार्डका कारण बिबिसीविरुद्ध खेल्न पाउने छैनन् । पहिलो खेलमा च्यासललाई २–० को नतिजा सुम्पिएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको संकटाले चौथो खेलमा पुलिसलाई २–१ को नतिजा सुम्पिएको थियो ।

पाचौ खेलमा विभागीय एपीएफलाई ४–२ ले पराजित गरेको संकटा अघिल्लो खेलमा आर्मी क्लबलाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।
गत सिजन ब्रिगेड र संकटाले बराबरी खेल्दै अंक बाडेका थिए । बिबिसी क्लबका ब्यवस्थापक अर्विन गुरुङ संकटाविरुद्ध महत्वपुर्ण तीन अंकका लागिनै भिड्ने बताउँछन् । ‘लिगमा हामी भन्दा तल रहेका टिमले अंक बटुल्दै आउँदा हामीलाई केहि समस्या हुन सक्छ । त्यसैले पनि संकटाविरुद्ध तीन अंकको लागि खेल्नेछौं । खेलाडी तयार छन् ।’ उनी भन्छन् ।

राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बिबिसीले सोमबार चार विदेशी खेलाडी मैदानमा उतार्न सक्नेछ । बिबिसीले आईतबार मात्रै भारतीय डिफेन्डर टिममा ल्याएको छ ।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित बिबिसीले दोस्रो खेलमा फ्रेण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा मनाङसँग १–० ले पराजित भएपनि चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई हराउन सफल रह्यो । पाँचौ खेलमा थ्रीस्टारसँग ३–० ले पराजित बिबिसीले पछिल्लो खेलमा सरस्वती युथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

गत सातानै आर्मीलाई लिगको शीर्ष स्थानमा उक्लिने मौका आएको थियो । संकटाविरुद्ध उसले जित निकाल्न नसक्दा उसले लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।एक साता नबित्दै पुन आर्मीलाई लिगमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर छ । उपाधि होडको मछिन्द्र हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि आर्मीलाई शीर्ष स्थानमा उक्नले मौका आएको हो । सोमबार लिगको सातौं चरणको खेलमा आर्मीले बलियो देखिएको च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । कम्तिमा बराबरीको नतिजाले समेत आर्मीलाई शीर्ष स्थानमा पुर्याउनेछ । यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ । उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ ।

आर्मीविरुद्ध जित निकाल्दै च्यासल भने कम्तिमा रेलिगेशन जोनबाट माथि उक्लिने दाउमा छ । आर्मीविरुद्ध जित हात पारे च्यासल तालिकाको आठौं स्थानमा उक्लने छ ।आर्मीका प्रशिक्षक नविन न्यौपाने च्यासलविरुद्ध कुनै गल्ती नगरेर लिगमा तीन अंकका अग्रता बनाउने बताउँछन् ।

‘च्यासल बलियो टिम हो । उसको स्ट्राइकर राम्रो लयमा छन् । शीर्ष स्थानमा अग्रता बनाउने अवसर आएको छ । जसको सदुपयोग गर्छौं ।’ उनी भन्छन् । अन्तिम खेलमा कप्तान भरत खवासलाई समस्या देखिएपनि सोमबारको खेलमा भने उपलब्ध हुनेछन् । संकटाविरुद्ध रातो कार्ड पाएका डिफेन्डर युद्ध शाहि च्यासलविरुद्ध भने उपलब्ध हुने छैनन् । अन्य टिम भने आर्मीको सेट टिमनै रहनेछ ।

पहिलो खेलमै फ्रेण्डसलाई २–१ ले हराएको आर्मी दोस्रो खेलमा भने मनाङसँग १–० गोल अन्तरले पराजित भएको थियो । तेस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गरेको आर्मीले चौथो खेलमा थ्री स्टारलाई पराजित गर्यो । पाँचौ खेलमा सरस्वतीलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको आर्मी पछिल्लो खेलमा संकटासँग एक एकको बराबरी रोकिएको थियो । गत सिजन भएको खेलमा च्यासललाई आर्मीले हराएको थियो । डिफेन्डर विकाश खवासको निर्णायक गोलमा आर्मीले च्यासल युथलाई पराजित गरेको हो ।

यता, च्यासल पनि आर्मीलाई हराउँदै लिगमा दोस्रो जित निकाल्ने दाउमा हुनेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल आर्मीविरुद्ध तीन अंक चाहन्छन् । ‘आर्मी अहिले निकै बलियो टिम छ । आर्मीविरुद्ध तीन अंकको लागि खेल्छौं । कम्तिमा अंक गुमाउन चाहन्नौ ।’ उनी भन्छन् ।

आर्मीविरुद्ध च्यासलले आफ्नो मुख्य हतियार राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखललाई बनाउने छ । लिगमा सन्तोषले सर्वाधिक ५ गोल गरेका छन् । उनीसँगै एपीएफका आशिष लामाले ५ गोल गरेका छन् ।

पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेका च्यासलले दोस्रो खेलमा मछिन्द्रलाई १–१ को बराबरीमा रोकेको थियो । त्यसपछि च्यासलले लगातार एनआरटीसँग २–१ र जावलाखेल युथविरुद्ध २–० ले हार ब्यहोर्यो । पाँचौ खेलमा पुलिससँग २–२ को बराबरी खेलेको च्यासल पछिल्लो खेलमा एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।