लुम्बिनी

प्रदेश नं ५ को हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु

खस्यौली । प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गरे ।

उनले विगतमा प्रदेशसभामा भएका अनेकौंँ विषय छलफलबाट नै समाधान भएको स्मरण गर्दै प्रदेशसभामा देखिने जुनसुकै विषय पनि छलफलबाट टुङ्गो लाग्ने विश्वास लिएको छु भने ।

विपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले जनमतको कदर गर्नका लागि पनि हिउँदे अधिवेशनले स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।

उक्त अधिवेशनमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डे, फकरुद्दिन खाँन, दीपेश थारु र तारा जिसीले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो । अधिवेशनमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएको थियो ।

त्यस्तै चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइआएको प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र समेत सभामुख घर्तीले पढेर सुएको थियो ।