अन्तर्राष्ट्रिय

राष्ट्रपति पुटिन बर्लिनमा हुने सम्मेलनमा सहभागी हुने

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन आइतबार आउने जानकारी मर्केललाई दिएका बताइएको छ ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनद्वारा जारी वक्तव्यमा दुई नेताका बीचमा अन्य विविध विषयमा पनि कुराकानी भएको उल्लेख गरिएको छ । लिबियामा जारी द्वन्द्व अन्यका लागि द्वन्द्वरत पक्षलाई वार्तामा ल्याएर राजनीतिक रुपमा समस्या समाधान गर्न सकिने विश्वास पनि उनीरुले व्यक्त गरेका छन् । सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने वक्तव्यमा उल्लेख गरिएको छ ।

सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स, टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेकी हुन् । “लिवियाको संकट समाधानका लागि राष्ट्रसंघीय महासचिव गुटेर्रेस, लिबियाका लागि राष्ट्रसंघीय विषेश प्रतिनिधि घस्सान सलामलाई सघाउने उद्धेश्यले नै आगामी आइतबार बर्लिनमा हुनेगरी जर्मन चान्सलर एञ्जेल मर्केलले सम्मेलनको आयोजना गरेकी हुन् ,” जर्मनी सरकारका प्रवक्ता स्टेफन सेइबेर्टले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ।