साहित्य

सिद्धपोखरी : रातको १२ बजे

सिद्धपोखरी, रातको १२ बजेको छ । पूर्णिमाको रात भएर पोखरीमा हल्का उज्यालो पोतिएको छ  बेला बेला माछाको चप्लङ्ग चुप्लुङ्ग सुनिन्छ । रुखमा बसेको किराहरूको अनौठो आवाज आइरहेको छ । हावा चलेकोले रुखका पातहरू मन्द सुसेल्दै छन् । एकदम सुनसान छ- पोखरी । जूनको मधुरो प्रकाशमा रुखको छायाँ पोखरीमा छरिएको छ । यस्तैमा एउटा मधुरो आकृति प्रवेशद्वार छेउको पर्खालबाट भित्र उक्लन्छ । लुगामा लागेको भित्ताको सेतो टकटकाउँछ । हेर्दा २२-२४ वर्षको देखिने त्यो आकृति अब बिस्तारै पोखरीलाई दाहिने पारेर हिँड्न थाल्छ । सुनसान भएर होला उसको हिँडाइको आवाज प्रष्ट सुनिन्छ । आधा पोखरी घुमिसकेपछि, एउटा पाटीमा गएर बस्छ । पर पसेको पर्खाल तिर हेर्छ अनि एकपल्ट हातमा बाँधेको घडी पनि हेर्छ । त्यस्तैमा सुवास भन्दै सानो स्वरमा कसैले बोलाउँछ । ऊ आफू बसेको ठाउँबाट उठेर पछाडि फर्कन्छ, एउटी केटी पर्खालको पल्लो पट्टीबाट उसैलाई हेरिरहेकी हुन्छे । ‘हात दिँदैनौ ?’ भनेर केटीले सोधेपछि सुवास उसलाई भित्र उकाल्नलाई हात दिन्छ ।

भित्र पसिसकेपछि केटी भन्छे ‘धेरै बेर त पर्खाइन नि ?’
‘आज त परेन, धेरै बेर पर्खन।’
‘तिमी समयको धेरै पक्का भएछौ सिम्रन’, भन्दै मुस्कुराइदिन्छ सुवास । अनि सिम्रनलाई पाटीमा बसाउँछ । एक छिन एक अर्कालाई हेर्छन् , धेरै बेर आँखा जुधाउन सक्दैनन् अनि पर पर हेरे जस्तो गर्छन् ।
‘दिउँसो किन नबोलाएको मलाई ?’ सिम्रन अलिक निराश भएर सोध्छे ।
‘तिमीले पनि त बोलाएनौ नि सिम्रन, अनि तिमी तिम्रो बोइफ्रेन्डसँग थियौ कसरी बोलाउनु मैले ?”
‘तिमीलाई थाहा छ सुवास, सागरको बानी बेहोरा ठ्याक्कै तिमी जस्तै छ ।’, सिम्रन लजाउँदै भन्छे ।
सुवास अलि अनौठो मान्दै भन्छ, ‘सदिना पनि ठ्याक्कै तिमी जस्तै मुस्काउँछे ।’
‘ए भनेपछि उसको नाम सदिना हो?’ सुवासलाई जिस्काउन खोज्दै सिम्रन इत्रिन्छे ।

‘तल गएर बसौँ न’ भन्दै सुवास सिम्रनलाई हेर्छ, थोरै भावुक देख्छ सिम्रनलाई सुवास । पाटीबाट तल पोखरीमा जानलाई उठ्छ सुवास । सिम्रनले सुवासको हात समाउँछे । सुवास अनौठो मान्दै हात छुटाउन खोज्छ । सिम्रन झन् कसिलो गरी दुवै हातले सुवासको हात समाउँछे । सिम्रनका आँखा आँसुले भिजेका छन् । सुवास बिस्तारै फेरी त्यै पाटीमा बस्छ । एउटा हात सिम्रनले समातेकोले अर्को हातले उसको आँखा छेक्न आएको कपाललाई कानमा सिउरी दिन्छ । सिम्रनले मन थाम्न सक्दिन, सुवासलाई झ्याप्प अङ्गालो हाल्छे । सुवासलाई असहज लाग्छ त्यै पनि हलचल नगरिकन बस्छ, धेरै बेरसम्म पनि सिम्रनले नछोडेपछि सुवासले पनि सिम्रनलाई पक्रन्छ ।

एकछिन अङ्गालोमा बाँधिएपछि दुवै जना सिंढी ओर्लेर पोखरी छेउमा बस्छन् । सिम्रन सुवासको कुममा टाउको राखेर पोखरी तिर हेर्छे । ‘सुवास मलाई यो पोखरी साह्रै मनपर्छ, तिम्रो याद भएर होला सायद !’
पोखरीबाट नजर नहटाई भन्छे सिम्रन । ‘मलाई पनि तिमी छौ जस्तो लाग्छ यहाँ, यो पानीमा तिमी छौ जस्तो लाग्छ ।  हेर तिमी जस्तै चञ्चल छ तर तिमी भन्दा राम्रो लाग्दैन मलाई यो पोखरी । तिम्रो छाँया जस्तो लाग्छ मलाई यो पोखरी अनि मान्छे भन्दा उसको छाँया के राम्रो हुन्छ र ? तर मान्छे भेटिने त छाँया पछ्याएर न हो, होइन र सिम्रन ?’ मधुरो बोल्छ सुवास । सिम्रन केही बोल्दिन ।

सुवास जुरुक्क उठ्छ, सिम्रन बसेको ठाउँबाटै हेर्छे उसलाई । सुवास पोखरी हेरेर कराउन थाल्छ, ‘ओइ सिद्धे भन के तँ यत्ति राम्रो छस् ? मेरी सिम्रन जस्तो ?’ एकछिन केही सुने जस्तो गर्छ अनि फेरी भन्छ, ‘के भयो ओइ बोल् न, के त मेरी सिम्रनसँग हारिस् कि मेरो पागलपनसँग ?’ पोखरी हेर्दै लामो सास फेर्छ । चिसो भएर सुवासले फेरेको श्वासको मुस्लो झैँ देखिन्छ । सिम्रन अब साँच्चै रुन थाल्छे । भक्कानिएको आवाज सुनसान पोखरीभरि गुन्जन्छ । उभिइरहेको सुवासको हात समाउँछे, ‘सिम्रन, के भयो सुवास मलाई हेर न । किन कराएको यसरी मलाई डर लाग्यो ।’

त्यत्तिकैमा पोखरीको पर्खालबाट केही जोडीहरू ओर्लन्छन् । एकअर्कासँग केही कुरा गर्छन् अनि सबै केटा ‘सिद्धे सिद्धे’ भन्दै कराउन थाल्छन् । सिम्रन सबैलाई हेर्छे सबै केटा सुवास जस्तो लाग्छ अनि केटी जस्तो । आवाज चर्को हुँदै जान्छ । सिम्रनलाई झन् डर लाग्छ । ‘सुवास मलाई निकाल न यहाँबाट मलाई डर लाग्यो’,  रुँदै बिन्ती गर्छे सिम्रन । सुवास सिम्रनलाई हेर्छ उसका आँखा टमाटर जस्ता राता हुन्छन् । सिम्रनको अनुहार हेरेर बिचराको भावमा ‘च्व च्व’ गर्छ । राता आँखाबाट आँसु चुहिन लागेको जस्तो देखिन्छ । सिम्रन अचेत झैँ भएर हेर्छे सुवासलाई । सुवासले सिम्रनको हात आफ्नो हातबाट छुटाउँछ । अन्तिम पल्ट सिम्रनलाई हेर्छ अनि पोखरीमा झ्वाम्म हाम फाल्छ । सुवाससँगै अरू सुवास जस्ता केटाहरू पनि पानीमा हाम फाल्छन् । ठुलो छप्लङ्गको आवाज आउँछ । सुवास हाम्फालेको ठाउँबाट पानीको छिट्टा उफ्रेर सिम्रनको मुख भिजाउँछ । सिम्रन निद्राबाट ब्युँझन्छे । जिउ पुरै पसिनाले भिजेको हुन्छ । मोबाइलको बत्ती बाल्छे अनि एक गिलास चिसो पानी सारेर एकै श्वासमा रित्याउँछे । उता आफ्नो घरमा सुतिरहेको सुवास निद्रामा झस्कन्छ अनि कोल्टे फेरेर सुत्छ । बाँकी रात सिम्रनलाई निद्रा ।