राजनीति

ठुला भ्रष्टाचार ढाकछोप गर्न कम्युनिष्ट सरकार व्यस्त देखियोः प्रदिप पौडेल

रामेछाप । नेपाली कांग्रेसका केन्द्रिय सदय तथा युवा नेता प्रदिप पौडेलले ओली सरकार हरेक क्षेत्रमा एकलौटी कब्जा गर्दै नेकपाकरण गर्न उद्दत रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले आज मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले संवैधानिक अंग, नेपाली सेना, प्रहरी–प्रशासन, कर्मचारीतन्त्र लगाएतका ठाउँमा समेत एकलौटि कब्जा जमाउँदै नेकपाकरण गरी आफना मान्छे भर्ती गर्न ओली सरकार खुलेआम लागेको दाबी गरे ।

साथै नेता पौडेलले बर्तमान ओली नेतृत्वको नेकपाको सरकार मुलुकमा भईरहेका भ्रष्टचारमा लिप्त रहेको बताएका छन् । नेकपाको सरकार भ्रष्टचारलाई नीतिगत रुपमै पास गराउनेगरी संविधानमा भएका व्यवस्थालाई लत्याउँदै एकलौटि विभिन्न निर्णय गर्न अग्रसर रहेको आरोप लगाएका छन् ।

पौडेलले ठुला भ्रष्टचार ढाकछोप गर्न व्यस्त देखिएको बताएका छन् । फरक प्रसंगमा नेता पौडेलले संविधानमा वैयक्तिक स्वतन्त्रता, व्यक्तिगत अधिकार लगायतका कुरा प्रष्ट रुपमा भएपनि वैयक्तिक स्वतन्त्रलाई समेत असर पार्ने गरी नेकपाको सरकारले विधेकहरु ल्याएर व्यक्तिको मानअधिकार हनन गर्न लागी परेको बताएका छन् ।

साथै उनले एमसिसिको बारेमा चर्चा गर्दै कांग्रेस सरकारको पालामा भएको सम्झौता देशको हितमा भएको भन्दै कांग्रेस एमसिसिको पषमा रहेको बताए ।