समाचार

घुस लिएको आरोपमा लेखाअधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेपछि रकम भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिएको आयोगले आरोप लगाएको छ । लेखाअधिकृत कार्कीविरुद्ध घुस रकमबराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि रु दुई हजार घुस लिएको आरोपमा आयोगले रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ । धरौटी रकम फिर्ता गर्ने क्रममा निजहरुले सेवाग्राहीसँग दुई हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।