पर्यटन/संस्कृति

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

visit nepal 2020 bhaktapur mela

काठमाडौँ । बहराइनका परराष्ट्र सचिव डा. सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मनामास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा भ्रमण वर्ष अभियानको शुभारम्भ गर्दै सचिव खालिफाले पर्यटनको माध्यमबाट नेपालको आर्थिक समुन्नति हुने धारणा व्यक्त गरे । उनले नेपाल र बहराइनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा निकट रही सहकार्य गरिरहेकामा खुशी व्यक्त गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सोही दिन राजदूतावासले नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ४३ औँ वर्षगाँठको कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले नेपालका पर्यटकीय आकर्षणस्थलको उपयोग गर्ने उद्देश्यले भ्रमण वर्षलाई सफल बनाउन आह्वान गरे । त्यसैगरी नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध सौहार्द्रपूर्ण रहेको भन्दै उनले पर्यटन, पूर्वाधार, वाणिज्य तथा मानव संसाधन क्षेत्रमा दुवै राष्ट्रले सहकार्य बढाउँदै लानुपर्ने बताए । बहराइन सरकारका उच्चपदस्थ कर्मचारी, व्यापारी र त्यहाँ खुलेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि सहभागी सो कार्यक्रममा भ्रमण वर्षको ब्यानर र चित्र राखिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजदूत सुन्दासले भ्रमण वर्ष अभियान सफल बनाउन दूतावासले वर्षभरि विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । राजदूत सुन्दासले आगामी अप्रिल २–४ मा काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा बहराइनबाट उच्च तहको सहभागिताका लागि अनुरोध गरेको छ ।