बाग्मती

लागुऔषध नियन्त्रणका लागि कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श सेवा सञ्चालन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनभित्र लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श केन्द्र शुरु भएको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुुक्तरुपमा उद्घाटन गरेको हो ।

नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागुऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्नेछ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइनेछ । केन्द्रको सञ्चालन गर्न भरतपुर महानगर र नेपाल प्रहरीबीच सम्झौता भएको छ ।

कार्यक्रममा महानगर प्रमुख दाहालले लागुऔषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदायस्तरमा नै सचेतना जगाउनु अहिलेको आवश्यकता हो भनिन् । चितवन देशकै मध्यभागमा रहेकाले यस्तो केन्द्रको आवश्यकता रहेको भन्दै उनले यसबारे जनचेतना फैल्याउन पाठ्यक्रममा पनि समावेश गर्नुपर्नेमा जोड दिइन् ।

प्रहरी महानिरीक्षक खनालले लागुऔषधको माग घटाउन समुदायस्तरमा नै सचेतना आवश्यक रहेको बताए । उनले भने, “लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको सङ्ख्या घटाउन समुदाय र विद्यालयस्तरबाटै अगाडि बढ्नुपर्छ ।”

लागुऔषध ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुव्र्यसनीमा फसेकाहरु नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा परामर्श दिने बताए । लागुऔषधले अपराधको ठूलो हिस्सा ओगटेको भन्दै उहाँले यसलाई रोक्न अभिभावकसमेत सचेत हुनुपर्नेमा जोड दिए । अप्राकृतिक रुपमा हुने मृत्युमा ८० प्रतिशत लागुऔषधको कारण भएको उनको भनाइ थियो । कार्यक्रममा चितवनका प्रजिअ नारायणप्रसाद भट्टराई र प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पनि परामर्श केन्द्रको महत्वका बारेमा बोलेको थियो ।